शहीदको सम्मानार्थ सच्चा शहीदको खोजी 



खेमराज निरौला
देश र जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने शहीदहरूप्रति सम्मान गर्दै देशैभर माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाइँदै छ। नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहाँनिया राणाशासन, निरंकुश पञ्चायती व्यवस्था एवं त्यसपछाडिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा प्राण आहुति गरेका वीर सपुतहरूको योगदानलाई सम्झँदै वि.संं २०१२ देखि प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ। उक्त दिन शहीदहरूले गरेको बलिदानीलाई स्मरण गर्दछौं।

शहीद त्यस्तो मान्छे हो जसले मुलुक र जनताको मुक्ति र स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति गर्न पनि पछि पर्दैन। जीवन रोज्छौ कि मृत्यु भनी तत्कालीन राणशासकहरूले दुईमध्ये एक रोज्न दिएको चुनौतीमध्ये आफ्नो मूल्य, मान्यता, देश र जनताको मुक्तिका लागि सहर्ष मृत्यु रोज्ने महान् सपुत नै वास्तवमा शहीद कहलिए। यसको अर्थ के पनि हुन्छ भने, बाटोमा हिँड्ने बटुवा अथवा घरको कौशीबाट रमिता हेरिरहेको बेला गोली लागी सहादतप्राप्त व्यक्ति शहीदको सूचीमा आउन सक्दैन। यस्ता प्रकृतिका घटनाले त वास्तविक शहीदको अपमान हुन पुग्छ। तर विडम्बना, हाम्रो मुलुकमा त्यसरी मृत्यु भएका वा जबरजस्त आन्दोलनमा उतारेर मृत्यु भएकालाई समेत शहीद र त्यसका नाममा राजनीतिक व्यापार गर्ने कुसंस्कार हाबी हुँदै गएको छ। आज हजारौं मान्छेलाई शहीदको दज्र्यानी प्रदान गरेर दशौं लाख रकम राज्यको ढुकुटीबाट बाँडिएको छ।

के यही हो सच्चा शहीदको सम्मान ? के शहीदले आफ्नो बलिदानी निश्चित रकम भुक्तानीका लागि दिएको हुन्छ ? तर सच्चा शहीदले कहिल्यै पनि निश्चित ज्याला प्राप्तिका लागि अधिकारका आन्दोलनमा होमिएको हुँदैन। मुलुकलाई समृद्धितर्फ डोर्याउने सपना बोकेर लडाइँमा होमिएको हुन्छ। तर वर्तमान समयमा शहीदले देखाएको बाटो बिर्सिएर राजनीतिको बागडोर सम्हालेका राजनीतिक दलहरू कुबाटोतिर लागेका छन्। शहीदको सपनामाथि प्रहार गर्दै हिँड्न थालेका छन्। उनीहरूको सुन्दर सपनामाथि राजनीति गर्दै मुलुकलाई बन्धक बनाइरहेका छन्।

शहीद दिवसलाई औपचारिकतामा मात्रै सीमित गरिन थालिएको छ। तर अहिले यस्तो विडम्बना छ कि राज्यले धमाधम मूल्यसमेत तोकेर शहीदको पगरी भिराइदिने राजनीतिक कुसंस्कार बढेको छ।
निरङ्कुशताकोे जन्जिरले मातृभूमिमाथि रजाइँ गरिरहेको बेला मुलुक र मुलुकवासीलाई स्वतन्त्रता दिलाउनु अपरिहार्य थियो। एकतन्त्रीय जहानियाँ शासनको अन्त्यका लागि प्राणको बाजी थापेर हाम्रा अग्रजहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैको परिणामस्वरूप आज हामी नेपालीहरू प्रजातान्त्रिक हुँदै गणतान्त्रिक मुलुकका नागरिकको रूपमा गर्वको महसुस गरिरहेका छौं। मुक्ति र स्वतन्त्रताका खातिर बलिदान गर्नेहरूको प्रयासले अन्ततः सफलता पाइछाड्यो।
प्रजातन्त्र र स्वतन्त्रताका लागि लडेका योद्धाहरूका लागि मृत्यु सामान्य हुन्छ। तत्कालीन राणाशासनको समयमा प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्नु भनेको गाथगादी ताकेजस्तै हुन्थ्यो। त्यसैले प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा आवाज उठाउने चारजना अगुवाहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई राणाशासकहरूले गाथगादी ताकेको आरोपमा वि.सं. १९९७ को माघ महिनामा मृत्युदण्ड दिए। यसले जनतामा झन् आक्रोश बढायो र सशक्त आन्दोलन गर्ने साहस जनतामा थपिदियो। फलस्वरूप १०४ वर्षसम्मको जहानिया शासन ढलिछाड्यो।
वि.सं. १९९० को दशकमा विश्व राजनीतिमा परिवर्तनका लहरहरू देखा पर्न थालेका थिए। छिमेकी राष्ट्र भारतमा ‘स्वतन्त्रता संग्राम’को प्रभाव पनि नेपाली राजनीतिमा परेको थियो। यसबाट नेपालमा विद्रोहको स्वर उठ्नु पनि स्वाभाविक थियो र भयो पनि त्यस्तै। जनताको स्वतन्त्रताप्रतिको तीव्र चाहनालाई तत्कालीन श्री ५ त्रिभुवनको अग्रसरताले पनि बढी ऊर्जा थपेको थियो। त्यसैले राजा र प्रजा दुवैको संयुक्त प्रयासले जहानिया शासनलाई धराशायी बनाउन सफल भए। सशंकित राणाहरूले सुब्बा कृष्णलाल अधिकारीलाई ‘मकैको खेती’ नामक पुस्तक लेखेको आरोपमा शब्दको गलत अर्थ लागाएर जेलमा नै सडाएर मारेका थिए। वास्तवमा उक्त पुस्तक परम्परागत खेती प्रणालीबाट कसरी आधुनिक प्रणालीतर्फ आउने भन्ने बारेमा थियो। यसरी कैयौं निर्भिक योद्धाहरूको बलिदानीबाट मुलुकमा प्रजातन्त्र स्थापना भैछाड्यो। जहानिया शासनका अगाडि शुक्रराजहरू कहिल्यै झुकेनन्। क्रूरता र अत्यचारसँग उनीहरूले कहिल्यै सम्झौता गरेनन्।
कृष्णलाल, भीमदत्त, भीमनारायण, दुर्गानन्द झा र यज्ञबहादुरहरूले कहिल्यै जीवनको भिख मागेनन्। रत्नकुमार वान्तवा, रामलक्ष्मण, दिवानसिंह, सरोज, रामनाथ र लीलाहरूले कहिल्यै दयाको भिख मागेनन्। यसरी प्रथम शहीद लखन थापादेखि अहिलेसम्म शहीद हुने क्रम रोकिएको छैन। शहीदका सहस्र अनुहार देखिएका छन्। तर अर्थहीन र अर्काको बहकाउमा बगेको रगतलाई राष्ट्रले के भनेर सम्बोधन गर्ने ? शहीदहरूले एउटा निश्चित लक्ष्य प्राप्तिका लागि रगत बगाएका हुन्छन् तर आपसी खिचातानी र निहित स्वार्थले गर्दा सच्चा शहीदहरूले बागाएको रगतको अवमूल्यन भैरहेको छ।
राज्यले राजनीतिक दलको दबाबका भरमा अहिले एकपछि अर्को गर्दै शहीद घोषणा गर्दै जाँदा सच्चा शहीदको मानमर्दन भएको छ। आजभोलि जो–कोहीले हाम्रा शहीदहरू कति छन् भनेर यकिनसाथ भन्न नसक्ने अवस्था छ। शहीदको परिभाषा के हो भन्ने नै टुंगो छैन अहिले। शहीदका मापदण्ड के हुन् ? कस्तो मृत्युवरणले एउटा मानिस शहीद कहलाउँछ ? हुलदंगा, तोडफोड, आगजनी र दोहोरो भिडन्तमा मारिनेहरू शहीद हुन् कि होइनन् ? देशको सुरक्षामा तल्लीन सेना, प्रहरीका जवानहरू सिमानामा मारिएका उनीहरूलाई के भन्ने ? कुनै राजनीतिक दल विशेषको झन्डा बोकेर मुठभेडमा मारिएको व्यक्तिलाई के भन्ने ? आज देशका सच्चा शहीद को हुन् भनेर खोज्नुपर्ने विडम्बना सृजना भएको छ। सरकारले पनि माघ १६ लाई औपचारिकतामा मात्रै सीमित राखेको देखिन्छ। आज शहीद गेटका चार दिशामा राखिएका शहीदका अर्धकदका शालिकहरू खुशी देखिँदैनन्। उनीहरूका परिवार आज उपेक्षित र अपहेलित भएका छन्। शहीदले देखाएको बाटोमा हाम्रो राजनीति हिँडेको भए जनताको मुहारमा हाँसो र खुशीको उमंग देख्न सकिन्थ्यो। तर नेताहरूको बोली र व्यवहार देख्दा यस्तो लाग्छ कि शहीदका सपनामा आज कुठाराघात भएको छ।
शहीदले कहिल्यै पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि लडेको हुँदैन। उसले देखेको सपना सारा नेपालीको साझा सपना हो। तर विडम्बना आजसम्म आइपुग्दा शहीदको सपनाको मर्मसमेत भुलेर शहीद दिवस केवल औपचारिकतामा मात्र सीमित बनेको छ। जसलाई आफ्नो अधुरो सपना पूरा गर्ने जिम्मेवारी दिएर शहीदहरू बिदा भए तिनीहरू नै आज मुलुकका सबैभन्दा धनाढ्य र शक्तिशाली भएका छन्। शहीदको बलिदानीबाट प्राप्त स्वतन्त्रताको रथ हाँक्ने जिम्मा पाएका शासकहरू व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीतिमा लिप्त भैदिँदा शहीदका सपना मूच्र्छित बन्न पुगेका छन्। मूच्र्छित सपनालाई सार्थक बनाउन सबैले व्यर्थको तर्क–वितर्क छोडेर सहमति र सहकार्यको संस्कारलाई आत्मसात् गर्नुपर्दछ।
शहीदको सपना साकार पार्ने हो भने बाँच्नेहरूले उनीहरूको रगतको मूल्य र महत्वलाई मनन गर्नुपर्दछ। उनीहरूको विचार र भावनालाई मर्न दिनुहुँदैन। मुख्य कुरा, आज जो पनि शहीद, जसलाई पनि शहीद घोषणा गर्नुपर्ने, सूचीकृत गर्नुपर्ने र त्यसबापत क्षतिपूर्ति पाउनुपर्ने कुसंस्कार हाबी भएको छ। शहीदको जीवनको मूल्य र उसले गरेको त्याग र बलिदान केका लागि थियो भन्ने प्रश्न अहिले नेपाली राजनीतिका खेलाडीहरूले बुझ्नु जरुरी छ। किनभने आज एकातर्फ देशमा शहीदका अनुहारहरू थपिएका थपियै छन् भने उनीहरूले पाउने इज्जत र सम्मान भने दिन–प्रतिदिन घट्दो छ। त्यसो भए के राष्ट्र, समाज वा निश्चित विचारका लागि शहीद हुनुको कुनै अर्थ छैन त ? अहिले नेपालमा राजनीतिले व्यावसायिक रूप लिइसकेको छ।
नेताहरूले राजनीतिलाई जनताको सेवामा भन्दा पनि आफ्नो गरिखाने माध्यमको रूपमा लिएका छन्। त्यस्तै सत्ता र शक्तिका आडमा करोडौं कुम्ल्याउन,े अनेक बहानामा अधिक आर्थिक लाभ लिने कुसंस्कारले गर्दा नेपालमा शहीद र बेपत्ताका नाममा ठगी गर्नेहरूको लर्को छ। तर कहिलेसम्म यस्तो गरिरहने ? शहीदहरूले हामी र हामीपछिका पुस्तालाई दिएर गएको स्वतन्त्रता र त्यही स्वतन्त्रताको जगमा टेकेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नयाँ नेपाल निर्माणमा हामी सबैले आफ्ना ठाउँबाट आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न सक्यौं भने मात्र शहीदहरूप्रति सच्चा सम्मान हुनेछ।
प्रतिक्रिया दिनुहोस्