संसद भवनमा आत्मघाती बम बिस्फोट गराउने चेतावनी



नेपाल समाचारपत्र, काठमाडौँ ।

‘हामी नेपाली हाम्रो नेपाल’ नामक एक संगठनले काठमाडौँको नयाँ बानेश्वर स्थित संसद भवनमा आत्मघाती बम बिस्फोट गराउने योजना बनाएको बताएको छ ।

आफूलाई सो संगठनका केन्द्रिय सदस्य बताउने अर्जुन कार्कीले नेपाल समाचारपत्रलाई यस्तो तयारी भएको बताए । सोमबार विहान समाचारपत्रको कार्यालयमा टेलिफोन गरेर उनले बम विस्फोट योजनाको खुलासा गरे ।

‘आगामी संसदको पहिलो बैठक वा अघि पछि जुनसुकै बेला आत्माघाती बम विस्फोट हुनेछ, उनले टेलिफोन संवादमा दावी गर्दै भने–‘संसद र संसद भवनलाई नै तार्गेट गरेर बम विस्फोट हुनेछ ।’ कार्कीले कैलालीको धनगढीबाट समाचारपत्रलाई यस्तो कुराको दावी गरेका हुन् ।

‘हामी नेपाली हाम्रो नेपाल’ नामक संगठनका आन्तरिक कुरा बाहिर फैलाएको आरोपमा सो संगठनले आफूलाई केन्द्रिय सदस्यको जिम्मेवारीबाट निलम्बन उनले गरेको बताए । आफू कारवाहीमा परेपनि संगठनका वर्तमान अध्यक्ष प्रदीप ओली र भारतीय कमान्डो ग्रुपका पूर्व कमान्डर समेत रहि सकेका डा. भीम केसीको मुख्य योजनामा विस्फोट गराइने कार्कीले दावी गरे ।

ललितपुरको कुनै एक स्थानमा पार्टी मुख्यालय रहेको सो संगठनका क्रियाशिल सदस्य ५९ हजार ३ सय रहेको संगठनको दावी छ । कार्की कारवाहीमा परेपछि २६ जना केन्द्रिय सदस्य छन् । कार्कीकै शब्दमा विस्फोटका लागि १ करोड १० लाख रुपैयाँ आर्थिक संकलन गरी हतियार र अन्य विस्फोटक पदार्थ समेत तयार अन्य विस्फोटक पदार्थ नेपाल ल्याएका छौ’–उनले भने ।

विगत २० वर्षदेखि नेपालको बेरोजगारी अन्त्य देखि कृषि क्रान्तिका विभिन्न नारा अघि सार्दै आएको सो संगठनले केही महिना अघि प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएको थियो । तर देउवाले आफूहरुको मागलाई लत्याउँदै ढोकाबाटै गलहत्याएको कार्कीको आरोप छ । त्यसैको जवाफ स्वरुप विस्फोटको योजना अघि सारिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्