प्रधानमन्त्रीकै गृह जिल्लामा छैन व्यवस्थित बसपार्क



ब्यस्त सडकमै यात्रु चढाउन र उतार्न बाध्य छन सवारी साधन

 

राम धामी, डडेल्धुरा ।

प्रदेश नं. ७ को हिलस्टेसनका रुपमा चिनिने डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ ।

सडक विभागले भिमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशक अघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारी साधन विश्रामस्थललाई हाल बसपार्कका रुपमा प्रयोग गरिएको छ । तर, सानो बिश्रामस्थलमा सवारी साधनको चाँप बढि हुने भएकाले यात्रुहरुलाई बसाउने र उतार्ने काम सडकबाटै गर्नुपर्ने बाध्यता रहेको सवारी चालकहरु बताउँछन् ।

प्रदेश नं. ७ का ७ पहाडी जिल्लाको केन्द्रविन्दु मानिने डडेल्धुरा सदरमुकाम भएर दैनिक ५ सय भन्दा बढि सवारी साधनहरु आउजाँउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रनानी कृष्ण पुजाराले जानकारी दिए । उनले यात्रुवाहक सवारी साधनका अलवा ट्रक, टिप्पर, लहरी, ट्रयाक्टर र अन्य भारवाहक यातायातका साधनहरुको चाँप दिनहु बढदै गएको बताए ।

यात्रुवाहक सवारी साधनहरुले यात्रु उतार्ने र बसाउने देखि भारवाहनहरुले सरसमान लोड अनलोड गर्ने काम सडकमै गर्ने भएकाले सदरमुकाममा ट्राफिक व्यवस्थापन चुनौतीपुर्ण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडकको दाया र बाँया फुटपाथ समेत नभएकाले सवारी साधनको चाँपका कारण भिडभाडमा हिडडुल गर्नै समस्या भएको सर्वसधारणहरु बताउछन् ।

सडकको केन्द्रविन्दु देखि दाया र बाँयातिर २५/२५ मिटर छाडनुपर्ने सडक विभागको मापदण्ड छ । तर डडेल्धुरा सदरमुकाममा कतिपय घरहरु सडकको नाली मिचेर बनाइएका छन् । कतिपय पसलहरुले सडकमै सरसमान राख्ने र घरधनीहरुले बिभिन्न निर्माण सामाग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारी साधन चलाउन निकै समस्या भइरहेको स्थानीय सवारी चालक भेषराज श्रेष्ठले बताए ।

सडक विभागले सडक मापदण्ड अनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरेपनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जनाएको छ । सडक छेउको जग्गा खाली गराउन खोज्दा उल्टै स्थानीयले मुद्दा दायर गरेपछि सर्वोच्च सम्म मुद्धा लडनु परेको र हाल सर्वोच्चले सडक विभागका पक्षमा फैसला गरिसके पनि कार्यान्वयन हुन नसकेको डिभिजन सडक कार्यालय कुलपातेका एक इन्जीनियरले बताए ।

डडेल्धुरामा हाल दुई ओटा सार्वजनिक यातायात समिति छन् । दुबै समितिका सयौ सवारी साधनहरु पार्किङ गर्न समस्या छ भने देशका अन्य स्थानबाट आउने सवारी साधनका कारण पनि चाँप थपिएको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समिति डडेल्धुराका अध्यक्ष सन्तोषकुमार खडका बताउछन् ।

बसपार्क अभावमा दैनिक क्युमा छुट्ने गाडीहरु छुट्न नपाउने अबस्था सिर्जना भएको र जिल्लाका ग्रामीण क्षेत्रका साथै अन्य जिल्लाबाट आएका सवारी साधनहरु पार्किङ गर्नै नपाईने अध्यक्ष खडकाले बताए । “बसपार्कमा पार्किङ गर्ने त कुरै छौडौ, साइडमा राख्न नसकिने अबस्था छ ।” उनले भने, “नम्बरको गाडीलाई ट्रयाकमा लगाउन समस्या भएकाले सडकै ट्रयाकमा लगाउनु पर्ने बाध्यता छ ।”

बसपार्कको अभावका कारण ट्राफिक समस्याका साथै बजारनै कुरुप भइरहेको स्थानीय अगुवाहरु बताउछन । बसपार्क अभावमा सदरमुकाम बागबजार तथा तुफाँनडाडा क्षेत्रमा दिँउसो सडकमा गाडी रोकिएका हुन्छन् । “ट्राफिक प्रहरी गएको बेला हटाउने र बाँकी समयमा उस्तै समस्या हुन्छ ।” बागबजार क्षेत्रमा डिउटीमा रहेका एक ट्राफिक प्रहरीले भने ।

डडेल्धुरा जिल्लालाई प्रान्तीय राजधानी निर्माणका लागि नागरिक स्तरबाट गठित दबाब समुहका अध्यक्ष प्रकाशबहादुर साँउद जिल्लामा प्रयाप्त भौतिक पुर्वाधार विकास नभएको भन्दै अस्थायी मुकाम धनगढीमा तोकिएको बताउछन् । “डडेल्धुरा जिल्लाबाट छौटौं पटक चुनाव जितेका शेरबहादुर देउवा अहिले पनि देशको प्रधानमन्त्री छन ।” उनले भने, “तर जिल्लामा व्यवस्थित बसपार्क समेत निर्माण हुन सकेको छैन् ।”

प्रतिक्रिया दिनुहोस्