जनप्रतिनिधिको सामन्ती शैली



जनप्रतिनिधिहरू जनतासँग जोडिएर काम गर्ने भनिए पनि उनीहरूले सामन्ती शैलीको गतिविधि गर्दै आएको धरहराले देखेको छ। विकास निर्माणमा लागिपर्ने कसम खाएका ती जनप्रतिनिधिले आफ्नै आर्थिक समृद्धि गरेको धरहरासँग गुनासो गर्दै थिए। यो सुनेर धरहरा तिनछक परेको छ।

जनप्रतिनिधिहरूले त काम नै गर्दैनन्, आफै डोजर किनेर विकास पार्दै त्यही डोजरको प्रयोग गर्दै आर्थिक उन्नति पो गरे। खै के गरूँ गरूँ? जिताएर त पठायौं तर उनीहरू हामीलाई सीधा नजरलेसमेत हेर्दैनन् हेर्नुस् भन्दै स्थानीयले गुनासो गरेको खबर धरहराले फेला पार्यो।

सर्वसाधारणले हेर्दा उनीहरू गाउँको विकासमा दिनरात खटेको देखिए पनि विकासको नाममा नाफाको व्यापार गरिरहेको धरहराको निष्कर्ष छ। जनप्रतिनिधिले पूर्वाधार निर्माणमा हात हाल्दा आफूहरू संकटमा परेको व्यवसायीले धरहराकहाँ गुनासो थुपारे। विकास निर्माणमा जनप्रतिनिधिको संलग्नता रहनु सकारात्मक हो। तापनि जितेकै आडमा जितेको केही दिन नबित्दै डोजर किनेर आफ्नो क्षेत्रमा धमाधम निर्माणका बजेट पार्दै रकम झ्वाम पार्नु पक्कै पनि राम्रो कुरा होइन भन्ने धरहराको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्