लक्ष्यभन्दा कम भन्सार असुली



यमलाल भुसाल, बुटवल
मुलुककै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्षको छ महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल देखिएको छ। भन्सार कार्यालयले आवको पुस मसन्तसम्ममा कुल ३७ अर्ब ४९ करोड १२ लाख रुपियाँको लक्ष्य लिएकोमा ३३ अर्ब ४ करोड ९९ लाख रुपियाँ राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले बताउनुभयो।

विगत वर्षमा भन्दा यस आर्थिक वर्षमा सवारी साधन आयातमा कमी आयात भएकाले राजस्व असुली मिट हुन नसकेको कार्यालयले जनाएको छ। गत आवमा यस नाकावाट छ महिनाको अवधिमा ६ हजार ७ सय १४ जिप कार र भ्यान आयात भएकोमा यसवर्षको सोही अवधिमा केवल ३ हजार ५ सय ७७ वटा मात्र आयात भएको भन्सार कार्यालयले जनाएको छ। जिप कार भ्यान कमी आउदा ५ अर्ब ४६ करोड ४९ लाख रुपियाँ राजस्वमा कमी भएको कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्ष २०७४/७५ को असोज महिना बाहेक अन्य ५ महिनामा कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा वार्षिक राजस्व संकलनको लक्ष्य प्रभावित भएको होे। कार्यालयबाट प्राप्त तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ५ अर्ब ७० करोड ६ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य रहे पनि कार्यालयले ५ अर्ब २१ करोड ११ लाख रुपियाँ मात्र राजस्व संकलन गरेको छ। त्यस्तै भदौ महिनामा ६ अर्ब ५१ करोड ५० लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ अर्ब १४ करोड ५६ लाख रुपियाँ, असोज महिनामा ५ अर्ब ७० करोड ६ लाख रुपियाँ लक्ष्य रहेकोमा ६ अर्ब ४३ करोड २१ लाख रुपियाँ राजस्व संकलन भएको छ।

यस्तै कार्तिक महिनामा ६ अर्ब ५१ करोड ५० लाख रुपियाँ लक्ष्य रहेकोमा ५ अर्ब ३० करोड ६२ लाख रुपियाँ र मंसिर महिनामा पनि ६ अर्ब ५१ करोड ५० लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य रहे पनि ४ अर्ब ९७ करोड २८ लाख रुपियाँ मात्र राजस्व संकलन भएको छ। कार्यालयले पुस महिनामा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्य रहेकोमा जम्मा ४ अर्ब ९८ करोड २१ लाख रुपियाँ असुली गरेको छ। भैरहवा नाकाबाट सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप कार र भ्यान लगायतको आयतमा कमी हँुदा लक्ष्य अनुसारको राजस्व संकलनमा प्रभाव परेको भन्सार प्रमुख शाक्यले बताउनुभयो।

त्यस्तै गत आर्थिक वर्षमा मधेस आन्दोलनको कारण वीरगन्जबाट पैठारी गर्ने अधिकांश पैठारीकर्ताहरू भैरहवा भन्सारमा आई कारोबार गरेकोमा हाल उक्त पैठारीकर्ताहरू पुनः वीरगन्ज नाकामा फिर्ता भएको कारण चालू आर्थिक वर्षमा राजस्व संकलनमा कमी देखिएको प्रमुख शाक्यको दाबी छ। साथै उहाँले भारतीय सीमामा अत्याधिक सवारी जामको कारण सिमेन्ट, क्लिंकर आयातकर्ताहरू अन्यत्र नाकाबाट कारोबार गर्न थालेको र भारतमा प्रारम्भ गरिएको कर प्रणाली जीएसटी तथा नेपालतर्पm शुरू गरिएको एक्जिम कोडको कारणले समेत केही आयातकर्तामा द्विविधा उत्पन्न भएको कारण लक्ष्य अनुसारको राजस्व संकलन हुन नसको भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्