आठ वर्षीया बालिकाको हत्यापछि बालुवामा गाडेको स्वीकार



खोटाङ, (नेस)
बालुवामा गाडिएको अवस्थामा शब फेला परेको खोटाङका ८ वर्षीया बालिकाको हत्या सोही स्थानका युवाले गरेको स्वीकार गरेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका निवासी नौमणी राईकी छोरी लुमणी राईको हत्या गरी बालुवामा गाडिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका सोही स्थानका जीउधन राईले हत्या आफैंले गरेको स्वीकार गरेका हुन्। पक्राउ परेका जीउधन र मारिएकी लुमणी काका–बडाबाउका छोराछोरी हुन्।

बुधबार दिउँसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा फेला पारिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जीउधनले सोधपुछका क्रममा उक्त कुरा स्वीकार गरेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो।

के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी रहेकाले घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ।

स्थानीयले भने जीउधनले बालिकालाई बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुन सक्ने अनुमान गरेका छन्। बालिका राईको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा घटना भएकै रात फेला पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्