मारिन सिलिक फाइनलमा



मेलबर्न, अष्ट्रेलिया ।
यहाँ भइरहेको अष्ट्रेलियन ओपन टेनिसको पुरुष तर्फको सेमिफाइनल खेल जित्दै क्रोयशियन खेलाडी मारिन सिलिक फाइनलमा प्रवेश गर्न सफल भएका छन् । सिरिकले फाइनलमा पुग्न ब्रिटिश खेलाडी केली एडमण्डलाई सजिलैसित ६–२, ७–६ र ६–२ को अन्तरले पराजित गरी पाखा लगाएका हुन् ।

सन् २०१४ मा पहिलो ग्रायण्ड स्लाम युएस ओपन जित्न सफल सिलिकको फाइनलमा अब १९ वटा ग्राण्ड स्लाम विजेता स्वीस खेलाडी रोजर फेडरर र दक्षिण कोरियन खेलाडी ह्युन चुँगका विजेतासँग हुनेछ । सिलिक ग्राण्डस्लाम जित्ने क्रोयशियाका दोस्रो खेलाडी हुन् । सन् २००१ मा गोरान इवानिशेविकले विम्बलडनको फाइनल जितेर पहिलो ग्राण्डस्लाम उपाधि उचाल्ने क्रोयशिन बन्न सफल भएका थिए ।

विश्वका ५८ औं वरियता प्राप्त २१ वर्षीय कोरियन खेलाडी चुँगले यस पटकको अष्ट्रेलियन ओपनमा अद्भूत खेल प्रदर्शन गर्दै ६ पटक अष्ट्रेलियन ओपनको उपाधि उचालिसकेका सर्वियन खेलाडी नोभाक जोकोभिकलाई प्रि–क्वार्टरफाइनलमा हराएका थिए । अष्ट्रिेलियन ओपनको सेमिफाइनलसम्म पुग्ने चुँग दक्षिण कोरियाका पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्