फेडेररलाई चुंगको चुनौती



मेलबर्न, (एजेन्सी)
रोजर फेडेरर आफ्नो करिअरको २०औं ग्रान्डस्लाम उपाधि जित्न अग्रसर भएका छन्। मेलबर्नमा जारी अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेपछि स्विस खेलाडीका लागि यो अवसर जुटाउन दुई जितको आवश्यक छ। ३६ वर्षीय फेडेररले चेक रिपब्लिकका टोमास बर्डिचलाई ७–६, ६–३, ६–४ को सीधा सेटमा पन्छाएका हुन्। यो उनीहरू दुई खेलाडीबीच ग्रान्डस्लाममा १०औं भेट थियो। जसमध्ये फेडेररले ३२ वर्षीय बर्डिचविरुद्ध आठौं जित हात पारे।

प्रतियोगिताअन्तर्गत अन्तिम चारमा पुग्नेमध्ये फेडेरर मात्रै पुराना र ग्रान्डस्लाम जितेका खेलाडी हुन्। उनले फाइनल पुग्न २१ वर्षीय दक्षिण कोरियाली खेलाडी हेओन चुंगको चुनौती पन्छाउनुपर्नेछ। उनीहरूले फाइनलका लागि शुक्रबार खेल्नेछन्। चुंग यस प्रतियोगितामा एकपछि अर्को इतिहास रच्दै अगाडि बढेका युवा खेलाडी हुन्। क्वार्टरफाइनलमा ६ पटकका अस्ट्रेलियन च्याम्पियन नोभाक जोकोभिचलाई हराएपछि नै चुंग चर्चित बनेका छन्। यो जितसँगै वरीयताविहीनका साथ प्रतियोगितामा सहभागी भएका उनलाई उपाधि दाबेदारीका रूपमा समेत हेरिएको छ। चुंग ग्रान्डस्लाम प्रतियोगितामा अन्तिम चार पुग्ने पहिलो दक्षिण कोरियाली खेलाडीसमेत बनेका छन्।

त्यस्तै दुई अन्य अन्तिम चारमा पुग्ने खेलाडीमा ब्रिटेनका काएल एडमन्ड र छैटो वरीयतामा क्रोएसियन मारिन चिलिच रहेका छन्। आज हुने यी दुई बीचको खेलमा जो विजेता भए पनि पहिलोपटक मेलबर्न पार्कमा फाइनल पुग्ने खेलाडी बन्नेछन्। एडमन्डले यसअघि कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको अन्तिम १६ कटाउन सकेका थिएनन्। तर, चिलिच भने गत वर्ष विम्बल्डनको फाइनलसम्म पुगेका थिए। ग्रान्डस्लाम उपाधि भने उनले जित्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्