नेटवर्किङमार्फत १ करोड ५२ लाख ठगी



यमलाल भुसाल, बुटवल

नेटवर्किङ व्यवसायमार्फत विगत लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएका ५ जना अभियुक्तहरूलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

नेपालका तराई तथा पहाडी जिल्लाहरूबाट जागिर लगाइदिने र राम्रो कमिसन पाइने भन्दै सर्वसाधारण नेपालीहरूलाई भारतको विभिन्न शहरमा पुर्याइ उनीहरूबाट पैसा असुल्ने गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बुधबार भैरहवामा पत्रकार सम्मेलन गरेर विभिन्न आश्वासन दिने तर जागिर पनि नलगाइदिने पैसा पनि फिर्ता नगर्ने अभियोगमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको हो।

भारतको गोरखपुरमा कार्यालय रहेको ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालिमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लम्जुङ दोर्दी गाउँपालिका वडा नं. ५ का दर्पण लामा र दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरीलाई पक्राउ गरेको छ। उनीहरूलाई ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

चौधरी र लामा विरुद्ध पीडित ३९ जनाले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गरेका थिए। यस्तै भारतकै बनारसमा रहेको विनविन ट्रेडमार्ट प्रालिमा नेपालीहरूलाई पुर्याइ ठगी गर्ने धादिङ रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले मगरविरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको जानकारी दिनुभयो। मगरसँग ७६ लाख ८३ हजार को बिगो दाबी गरिएको छ।

यस्तै भारतकै कुशीनगरमा रहेको फुलटन ट्रेडमार्ट प्रालिमा जागिर लगाइदिने बाहनामा ठगी गर्ने काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका ३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका १२ का दावा लामालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू विरुद्ध १८ जनाले कारबाहीको मागसहित जाहेरी दिएको र उनीहरूलाई ३७ लाख ५८ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको प्रनाउ पाण्डेले बताउनुभयो।

प्रहरीका अनुसार उनीहरूले नेपालका विभिन्न गाउँगाउँमा पुगेर सिधासाधा नागरिकलाई एजेन्टमार्फत सम्पर्क गराइ भारतका तीनवटा नेटवर्किङ कम्पनीहरूमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए।

प्रहरी तथ्यांकअनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन्। आर्थिक वर्ष ०७३÷०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४÷०७५ को पुससम्म ३ सय २७ जना पुरुष तथा महिलाहरूलाई सीमा क्षेत्रबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्