जताततै हिमपातः कतै खुसी कतै चिन्ता !



लाप्राकको गुप्सीमा पनि हिउँ पर्यो

सन्तोष अधिकारी, गोरखा ।

हिउँ परेपछि हिमालपारीका गोरखाकालीहरु खुसी भएका छन् । सिंचाइको अभावले खेतीपाती लगाउने सिजन घर्किनै लाग्दा हिउँ परेपछि उत्तरी गोरखाका स्थानीयहरु खुसी भएका हुन् । बुधबार विहानै देखि गोरखाका विभिन्न क्षेत्रमा हिमपात भइरहेको छ ।

‘ढिलो गरेर भएपनि हिउँ प¥यो’ सामागाउँका छिरिङ हिराचनले भने ‘हिजो बेलुका देखि नै अलिअलि पर्न लागेको थियो विहान तीन बजे तिरबाट त बेस्सरी परेको छ । अब भने खेती पाती लगाउन पाइने भयो भनेर गाउँलेहरु पनि खुसी भएको छ । यस वर्ष सामागाउँमा पहिलो पटक हिउँ परेको हो । तिब्बत सँग सिमा जोडिएको गोरखाको अन्तिम गाउँ साम्दोमा भने केहि दिन अघि पनि सामान्य हिमपात भएको थियो ।

उनका अनुसार सामागाउँबाट देखिने सबै क्षेत्रमा हिउँ परिरहेको छ । हिउँ परेपछि उत्तरी गोरखाका खेतबारी भिज्ने र खेती लगाउन सहज हुने गर्दछ । हिमपात भएको केहि दिन पछि स्थानीयले खेती लगाउन शुरु गर्छन् । ‘हिजो सम्म त खेतबारीमा चिसो भन्नेनै थिएन सबै धुलो मात्रै थियो’ उनले भने । हिउँ पग्लिएसँगै स्थानीयले जौ, करु, आलु, लगायतका खेती गर्ने स्थानीयले बताएका छन् ।

स्थानीयहरु अहिले घरभित्रै आगो तापेर न्यानो भएर बसेका छन् । चौँरी, घोडा, खच्चडहरुलाई पनि न्यानो ठाउँमा राखिएको स्थानीय बताउँछन् ।

हिमपात पछि कष्ट बेहोर्नु परेपनि खेतीबाली लगाउन सहज हुने भएकोले स्थानीयहरु खुसी भएको हिराचन बताउँछन् । गत वर्षहरुमा पुषको दोस्रो साता देखि नै हिमपात हुने गरेपनि यस वर्ष बल्ल परेको हो । हिउँ र चिसोबाट जोगिन केहि स्थानीयहरु बेँशी तथा तलका बस्तीहरुमा झरेपनि हिउँ परेको थिएन ।

त्यस्तै गोरखाकै अन्य ठाउँहरु छेकम्पार, विहि प्रोकका माथिल्लो भेगपनि हिमपात भइरहेको स्थानीयले बताएका छन् । यता तल्लो मनास्लुको बारपाक माथीका लेक, स्वाँराको विभिन्न लेकहरुमा पनि हिउँ परिरहेको छ । अजिरकोट गाउँपालिकाको नागे पोखरी, दुधपोखरी लगायतका क्षेत्र तथा खर्कहरुमा पनि हिउँ परिरहेको स्थानीयहरुले टेलिफोनमा जानकारी दिए ।

भुकम्पले घर भत्काएर बसेकाहरु भने चिसो बढे सँगै थप पिडामा परेका छन् । ‘भुकम्पले भत्काएको घर अझै बनाइसकिएको छैन’ केरौँजाका मानसिङ गुरुङले टेलिफोनमा भने ‘सबैले घर बनाइसकेको छैन । उनीहरुलाई त माथी डाँडामा हिउँ परेर चिसो बढेको छ । टहरोमै बसेको छ । पिडा भएको छ ।’

गुप्सी पाखामा पनि हिउँ

गैरआवसिय नेपालीहरुको संस्था एनआरएनएद्धारा निर्माणाधिन गोरखाको लाप्राक स्थित गुप्सीपाखाको नमुना बस्ती बनाउने काम पनि हिमपातकै कारणले प्रभावित भएको छ । गुप्सीमा विहान चार बजे तिर देखि हिउँ परेको नमुना बस्ती परियोजनाका इन्जिनियर दिपेश सिंहले टेलिफोनमा जानकारी दिए ।

‘गुप्सीमा हामीले जहाँ घरहरु बनाइरहेका छौँ यहाँ हिउँ परिरहेको छ’ उनले भने ‘काम गर्न निस्कने अबस्थै छैन । यसै त चिसो ठाउँ हो । हिउृँ परेपछि काम गर्नेहरु सबै टेण्ट भित्रै बसिरहेका छन् । यहाँ पाँच इन्च भन्दा धेरै बाक्लो हिउँ जमि सकेको छ पर्न रोकिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्