भू–मध्य सागरको वायुले वर्षा र हिमपात



टीका बन्धन, काठमाडौं ।

भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि मुलुकका अधिकांश भेगमा हिउँदे वर्षा भएको छ । मंगलबार साँझ सुदुरपश्चिमी भेगमा शुरु भएको वर्षाको प्रभाव बुधवार विहान सबेरै देखि मुलुकका अधिकांश भेगमा फैलिएको छ ।

अधिकांश उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मू कास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिँदा अहिले हिउँदे वर्षा र हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको बुधवार विहान पौने ९ बजेसम्मको तथ्यांक अनुसार डडेलधुरामा सबैभन्दा धेरै १२ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा २ मिलिमिटर वर्षा भएको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार मध्यान्ह्रपछि वर्षाको प्रभाव मुलुकको पूर्वी तराई र पहाडी भेगतर्फ सरेको छ । ‘काठमाडौं सहित पश्चिम तर्फको मौसम क्रमश : सुधार भइरहेको छ, पानी पर्ने र मौसम बदलिने प्रणाली पूर्वीभेग तिर सरिरहेको छ’–पोखरेलले भन्नुभयो । अहिलेको मौसमी प्रणालीले ठूलो वर्षाको संकेत भने नगरेको उहाँले प्रष्ट्याउनुभयो ।

तस्वीरहरुः धनवीर दाहाल, रुकुम/विनोद सिंह विष्ट, बैतडी

प्रतिक्रिया दिनुहोस्