सहारालाई हराउँदै सुदूरपश्चिम क्वार्टरफाइनलमा



धन बस्नेत, पोखरा

सहारा क्लबको न्यानो आतिथ्यतालाई स्वीकार्दै सुदूरपश्चिमले १६औं आहा–रारा गोल्डकपको क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

गतवर्ष सहाराले सुदूरपश्चिमलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, हिजो भने सुदूरपश्चिमले नतिजा उल्ट्याउँदै ३–० को जित निकाल्दा सहारा उद्घाटन खेलबाटै बिदा हुनुपर्यो। घरेलु खेलाडीलाई मात्रै प्राथमिकतामा राखेर मैदान उतारेको सहाराले सुदूरपश्चिमको चुनौतीलाई पन्छाउ सकेन।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि सहाराले दोस्रो हाफमा लय समात्न सकेन। पहिलो हाफमै गोलको समना गरेको सहारा दोस्रो हाफमा भने थप २ गोल खाँदै गोल्डकपको उद्घाटन खेलबाटै चिप्लियो। लङ थ्रो बललाई सहाराका डिफेन्डरले क्लियर गर्न नसकेपछि धनबहादुर थापाले सिक्सयार्ड बक्सबाट गोल गर्दै सुदूरपश्चिमले पोखराको यात्रालाई अझै लम्ब्याउने संकेत देखायो। ७८औं मिनेटमा मनिराम चौधरीले क्लबका लागि दोस्रो गोल थप्दै अन्तर बढाए। इन्जुरी समयको दोस्रो मिनेटमा राकेश हमालले अर्को गोल थपेका थिए।

सहाराको केही अवसर गोलमा परिणत नहुनु पनि हारको कारण बनेका थिए। २१औं मिनेटमा रिचर्ड पुनको पासलाई विनोद गुरुङले डिफेन्सलाई कटाउँदै गोलकिपर अगाडि बढेको अवस्थामा समेत क्रसबारमाथि प्रहार गरेका थिए। त्यस्तै सरोज योञ्जनको ग्रासबललाई त्रिदेव गुरुङले क्रसबारमाथि प्रहार गरे। ५८औं मिनेटमा पनि त्रिदेवको पासलाई उत्तम गुरुङको ठाउँमा मैदान छिरेका विजय श्रेष्ठले सदुपयोग गर्न सकेनन्।

उनले ६८औं मिनेटमा त्रिदेवकै पासमा विजयले अर्को अवसरलाई चुकाए।
विजेता क्लबले ७ लाख १ हजार नगद पुरस्कार पाउनेछ। उपविजेताले ३ लाख ५१ हजार पाउनेछ। त्यसै गरी बेस्ट अफ फाइभलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिनेछ। त्यसै गरी प्रत्येक खेलबापत प्रि–क्वार्टर फाइनल विजेतालाई नगद २० हजार, पराजित टिमलाई १० हजार, क्वार्टरफाइनल ३० हजार, हार्नेले २० हजार नगद अतिरिक्त रकम पाउनेछ। त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीलाई नगद ५० हजार रुपियाँ दिइनेछ। दर्शकले हिरो ड्यास स्कुटर र टिभी पाउने छन्। प्रतियोगिताको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्