खाद्य असुरक्षा न्युनिकरणका लागी स्थानीयहरु सक्रिय



धनवीर दाहाल, रुकुम पुर्व । रुकुम पुर्वको भुमे गाँउपालिकाका स्थानीयहरु खाद्य सुरक्षामा सुधार गर्नका लागी सहकारीको माध्यमबाट स्वाबलम्बी समाज निमार्णको अभियानमा जुटेका छन् ।

बिगतका बर्षहरुमा खाद्य असुरक्षाको समस्या झेल्दै आएका भुमे गाँउपालिकाको महतमा गाँउपालिकाको समन्वय र गैरसरकारी संस्थाको सहयोगमा सहकारीको माध्यमबाट स्थानीयहरुले कृषि, वातावरण तथा खाद्य सुरक्षाको लागी कार्यक्रमहरु गरी खाद्य असुरक्षा न्युनिकरण गर्नका लागी अग्रसर भएका हुन् । टिडिएच बिएमजेट जर्मन र रुकुमेली समाज विकास केन्द्र रुकुमले रुकुम पुर्वको भुमेगाँउपालिकामा स्थानीयहरुका लागी सो कार्यक्रम संचालन गरेको छ ।

आफ्नो प्रसस्त जमिन भएको र त्यो जमिनमा लगानी गर्नका लागी सम्बन्धीत निकायले सहयोग गर्नुपर्ने स्थानीयको भनाई छ । मोरावांङ्गकी स्थानीय मनकुमारी नेपालीले आफुहरुसँग भएको जमिनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । सिप र क्षमतालाई आफनै ठाँउमा लगानी गर्नुपर्ने उनको भनाई छ । यस्तै गाँउ कार्यपालिका सदस्य लिलाप्रसाद सुनारले रुकुमेली समाज विकास केन्द्रले संचालन गरेको कार्यक्रमको प्रसंशा गरे । उनले सँधै संघसंस्थाको मुख ताक्नुभन्दा पनि स्थानीय स्तरमा केही गर्नुपर्ने बताए ।

दिगो विकासका लागी गैरसरकारी निकायले सहयोग गरेपनि सँधै उनीहरुको भर पर्नु नपर्ने अवस्था स्थानीय स्तरबाटै आउनुपर्ने सुनारको भनाई छ । रुकुमेली समाज विकास केन्द्रले आफ्नो ठाँउमा आयआर्जनका काम, सिपमुलक तालिम तथा बिभिन्न प्राबिधिक र पुर्वाधार विकासमा पनि सहयोग गरेको उनले बताए ।

जैविक बिषादीको प्रयोग गरेर खाद्य उत्पादनमा बृद्धि गर्ने, युवाहरुलाई स्वरोजगार गर्नुका साथै युवाहरुलाई बिदेश पलायनबाट लोक्न कार्यक्रमले कोसेढुंगा साबित गरेको रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक उत्तम अर्यालले बताए । पर्यावरणिय अधिकारको सुनिश्चित गर्दै खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिएको हो । भुमे गाँउपालिकामा महिला, वालवालिका तथा युवा सँग सम्बन्धीत भएर कार्यक्रम संचालन भइरहेको छ ।
बिशेष गरी युवाहरुलाई स्वरोजगार बनाउनका लागी आयआर्जन मुलक कार्यक्रम संचालन गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले बताए । उनले पर्यावरणिय वाल अधिकारको सुनिश्चितता गर्दै खाद्य सुरक्षामा सुधार गर्नका आफ्नो संस्थाले जोड दिएको बताए । पछाडी परेको समुदायको रुपमा चिनिने भुमेगाँउपालिका मोरावांगमा खासगरी आयआर्जनका, खाद्य सुरक्षाका साथै पुर्वाधार विकासमा पनि काम भइरहेको छ ।

जसले गर्दा स्थानीयहरुमा पनि निकै उत्साह थपिएको छ । सो ठाँउको स्थानीय सहकारी संस्थाको लागी रुकुमेली समाज विकास केन्द्र र टिडिएच बिएमजेट जर्मनले २१ लाख चौविस हजार मुल्यको गाडी प्रदान गरेको छ । सो गाडी प्रदानबाट स्थानीय स्तरमा उत्पादित बस्तु निर्यात गर्नमा ठुलो मद्धत पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्