एमाले बैठक सम्पन्न, पार्टी एकता प्रक्रिया सकारात्मक



पुष्कर बुढाथोकी, भक्तपुर

नेकपा एमालेको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले पार्टी एकताको सम्बन्धमा दुईवटा कार्य दल बनाई अघि बढ्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव योगेश भट्टराईले दुई पार्टीको विचारधारा र सैद्धान्तिक पक्षका बीचमा सहमति निर्माण गर्न एउटा कार्य दल र संगठनात्मक कामको संयोजन र व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको बताउनुभयो। एक⁄दुई दिनपछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले उक्त दुई दलको कार्य दलको टुंगो लगाउने उहाँले बताउनुभयो।

उहाँले यसका लागि आवश्यक गृहकार्य गरी आआफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकमा एमाले र माओवादी केन्द्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलका बारेमा अध्यक्ष ओलीले बैठकमा जानकारी गराउनुभयो।’ उहाँले बैठकमा राष्ट्रियसभाका लागि उम्मेदवार चयन र पार्टी एकताको विषयमा छलफल भएको बताउनुभयो।

राष्ट्रियसभा निर्वाचन सम्बन्धमा कार्यदलले दिएको सुझाव प्रतिवदेनलाई वाम एकता संयोजन समितिको आइतबारको बैठकले अनुमोदन गरेपछि पार्टीको भागमा परेका उम्मेदवारको चयन सोमबार बसेको स्थायी समिति बैठकले गरेको छ। एमालेले सातवटै प्रदेशबाट २९ जना राष्ट्रियसभा उम्मेदवार तय गरी मनोनयन गर्ने निर्णय गरेको सचिव भट्टराईले बताउनुभयो। राष्ट्रियसभाको निर्वाचन साथै प्रदेशसभा सिट बाँडफाँडलगायतका कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो।

बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ। साथै कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ। ललितपुर क्षेत्र नं १ का एमालेबाट विजयी प्रतिनिधिसभा सदस्य नवराज सिलवालको सन्दर्भमा भएका घटनाको एमालेले भत्र्सना गरेको छ।

सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै बैठकले भत्र्सना गरेको हो। भट्टराईले भन्नुभयो– ‘समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लैजाने विषय बनाएर बढाई चढाई गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ।’

अपराह्न ४ बजे शुरू भएको बैठक राति ८ः३० बजेसम्म जारी रहेको थियो। बैठकले प्रतिनिधिसभा उम्मेदवारका लागि पार्टीले उम्मेदवार बनाउने व्यक्तिको नाम छनोट गर्नका लागि बैठक रातिसम्म जारी रहेको हो।

राष्ट्रियसभाको जिम्मा शीर्ष नेतालाई
काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रले सात प्रदेशमा पार्टीबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ। पार्टीका शीर्ष नेता र सातवटै प्रदेश इन्चार्जसहितको बैठकले राष्ट्रियसभा सदस्यको टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिएको हो। बैठकमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठनको बारेमा छलफल भएको थियो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले एमाले र माओवादी केन्द्रबीचको सहमतिअनुसार राष्ट्रियसभा सदस्यका लागि भाग परेको १४ सिटमा उम्मेदवार छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिने निर्णय गरेको नेता मातृका यादवले बताउनुभयो। १४ जना राष्ट्रियसभा सदस्यका लागि सात प्रदेशबाट तीन⁄तीन जना गरी ४२ जनाको नाम सिफारिस भएको छ। मंगलबार बस्ने शीर्ष तहको बैठकले उम्मेदवारको टुंगो लगाउने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ तीन नेताले नै उम्मेदवारी टुंगो लगाउने गृहकार्य अगाडि बढाएको बताइएको छ।

बैठकमा एमालेसँगको पार्टी एकता, पछिल्लो राजनीतिक अवस्था, एकता प्रक्रियाको अवस्था, एकतामा पार्टीको संगठनात्मक र वैचारिक राजनीतिक अडान, नेतृत्व बाँडफाँड, केन्द्रदेखि वडासम्म कस्ता पार्टी संरचना हुनेजस्ता विषयमा गहन छलफल भएको बताइएको छ। राष्ट्रियसभा सदस्यका निर्वाचन आगामी माघ २४ गते हुँदै छ भने बुधबार उम्मेदवारको मनोनय गर्ने कार्यतालिका रहेको छ।

बैठकमा एमालेसँग एकता गर्नका लागि पार्टीमा आन्तरिक छलफल, गृहकार्य गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छिट्टै पार्टी एकताका विषयमा वार्ता गर्ने विषयमा छलफल भएको यादवले जानकारी दिनुभयो।

बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिमा रहेका नेताहरूमाथि छलफल शुरू भएको बताइएको छ। शीर्ष नेताको बैठकले उम्मेदवारको अन्तिम नामावली तयार गर्नेछ।

प्रतिक्रिया दिनुहोस्