बुद्धको जन्मथलोको प्रचार सगरमाथाको चुचुराबाट



चिरञ्जीवी मास्के, दोलखा ।

नेपालमा जन्मिएको हो भन्ने कुरामा कुनै आशंका छैन तर केहि भारतियहरुले बुद्धको जन्मथलो भारतमा हो भनेर भ्रम छर्ने कोसिस गरिरहेका छन् ।

वैदेशीक रोजगारीको सिलसिलामा ४ बर्ष दक्षिण कोरिया बसेकी दोलखाकी छोकी शेर्पाले शान्तिका अग्रदूत बुद्धको जन्म भारतमा भएको कुरा भियतनाम, चिनिया, कोरियन तथा भारतीय साथीहरुको मुखबाट सुनिन् । यसले उनलाई साह्रै पीडा भयो र उनी बुद्ध नेपालमा जन्मिएको कुरा विश्वलाई सुनाउन विश्वको सर्वोच्च शिखर सगरमाथाबाट अभियान थाल्ने सङ्कल्प लिएर नेपाल फर्किईन ।

दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ सिमिगाँउकी छोकी शेर्पा सर्वोच्च शिखरमा बुद्ध नेपालमा जन्मिएको हो भनेर लेखिएको झण्डा र नेपालको झण्डा फहराउने सपना सहित अभियानमा लागेकी छन् ।

२७ बर्षकी छोकी शेर्पा आगामी चैत्र २५ गतेबाट सगरमाथा आरोहणको अभियानमा निस्कदै छिन् । अभियानको लागि झण्डै ३० लाख खर्च हुने भएकोले उनी अहिले सहयोगी दाताको खोजिमा छिन् । उनको अभियानमा अहिले पाएनियर एड्भेन्चर प्रालिले ब्राण्ड स्पोन्सर गरिदिएको छ । उक्त कम्पनिले छोकी र उनीसंगै सगरमाथा अभियानमा संलग्न काभ्रेपलाञ्चोककी सर्मिला तमाङलाई माउण्टेनियरिङ गियर लगाएत क्लोथिङ ब्राण्ड सामानहरु उपलब्ध गराई दिने भएको छ ।

छोकी र सर्मिलाले आफुहरुले सुरु गरेको अभियानले बुद्धको जन्मथलो नेपाल हो भन्ने कुरा विश्वलाई जानकारी गराउने र विदेशमा रोजगारीको लागि पुगेका महिलाहरुले बिभिन्न खाले हिंसा भोग्नु पर्ने भएकोले उनीहरुलाई नेपालमै फर्किएर पर्यटकीय विकास र रोजगारी सिर्जना गर्ने अभियानमा लाग्न उत्प्रेरीत गर्ने विश्वास लिएका छन् ।

अभियन्ता छोकी भन्छिन् – सर्वोच्च शिखरमा ४ सय भन्दा बढी महिलाले पाईला टेकिसक्दा नेपाली महिला जम्मा २५ जनामात्र पुग्न सकेका छन्, हाम्रो अभियानले महिलाहरुको साहशमा बृद्धि समेत गर्ने छ । विदेशमा हुने महिला हिंसाको अन्त्य र बुद्ध नेपालमै जन्मेका हुन भन्ने प्रचार गनुृ मेरो सगरमाथा आरोहणको सपना हो, जसको लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु – छोकीले भनिन् । आफुले सरकारलाई नै सहयोग हुने अभियान सुरु गरेको र अभियान महङ्गो भएकोले सरकार, स्थानिय निकाय लगाएतको सहयोग हुने अपेक्षा आफुले लिएको छोकी बताउछिन् ।

आगामी चैत्र २५ सुरु हुने छोकीको सगरमाथा आरोहणको अभियान २७ गते काठमाडौँबाट लुक्ला हुदै अगाडि बढ्ने छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा तथा बुद्ध नेपालमा जन्मिएको हो भन्ने नारा लेखिएको झण्डा फहराउदै धिरज राईले गाएको बुद्ध नेपालमा जन्मिएका हुन भन्ने बोलको गित एक मिनेट बजाएर अभियान समाप्त गर्ने छोकीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्