बार्सिलोना र रियलको सानदार जित



लन्डन, (एजेन्सी)

ला लिगाको शीर्ष टोली बार्सिलोनाले सानदार जित हात पार्दा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले पनि फराकिलो जित हासिल गरेको छ ।

आईतबार रातिको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० गोलअन्तरले हराएको हो । जसमा लियोनल मेसी र लुइस स्वारेजले २–२ गोल गरेका थिए । यो जितसँगै बार्सिलोनाले अपराजित यात्रालाई कायमै राखेको छ । मेसी १९ गोल गरेर ला लिगामा शीर्ष गोलकर्ता बनेका छन् । त्यस्तै स्वारेजले ला लिगामा १ सयांैं गोल गरेका छन् ।

अर्को खेलमा रियल मेड्रिडले डिपोर्टिभो ला कोरुनालाई ७–१ गोलअन्तरले पराजित गरेको थियो । टोलीका लागि गेरेथ बेल र क्रिस्टियानो रोनाल्डोले ९ डिसेम्बरपछि पहिलो पटक दुई–दुई गोल गरे । रोनाल्डोको लागि दोस्रो गोल महंगो साबित भएको थियो । विपक्षी खेलाडीको बुटले लाग्दा उनको आँखामा चोट परेको थियो । उनले मैदानबाटै मोबाइलमार्फत् डाक्टरलाई आँखामा भएको घाउ परीक्षण गराएका थिए ।

खेलमा डिपोर्टिभोका एड्रियन लोपेजले पहिलो गोल गरे पनि पछि सात गोल रियल मेड्रिडले फर्काएको थियो । यो जितपछि रियल शीर्ष चारमा फर्केको छ । तर टोली अंकतालिकामा बार्सिलोनासँग १९ अंकले पछि छ ।

प्रतिक्रिया दिनुहोस्