सेज जिम्मेबारीबाट पन्छिँदा उद्योग स्थापनामा ढिलाइ



रोविन पौडेल, काठमाडौं

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत् नपुग्दा उद्योग खोल्न सम्झौता गरेका १९ उद्योगको संरचना निर्माणकार्य शुरू हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले चैतभित्रमा आफ्नो कार्यक्षेत्र रहेको ट्रान्समिसन लाइन निर्माणकार्य सक्ने जनाए पनि विशेष आर्थिक क्षेत्र प्राधिकरणले समयमा जिम्मेवारी पूरा नगर्दा उद्योग संरचना निर्माण ढिलाइ हुने भएको हो।

नेपाल विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैत्रभित्रमा विद्युत् पुर्याउने जनाएको छ। सेजमा स्थापना हुने उद्योगका लागि विद्युत् वितरणका लागि सेजले बनाउनुपर्ने ३३⁄११ केभीको सवस्टेसन (१० एमभीए) निर्माणको प्रक्रिया बढ्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्याए पनि सवस्टेसन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत् नपाउने भएका हुन्। भैरहवा सेजले त्यहाँ सवस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत गरेको छैन।

‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् हामीले दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन।’

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण

 

सवस्टेसन निर्माणका लागि टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तिमा पनि ६ महिना लाग्नेछ। त्यसपछि सामान अर्डर गरी ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्नेछ। विद्युत् प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजेको आरोप प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको छ। उहाँले भन्नुभयो– ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् हामीले दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन।’ उहाँले सेज व्यवस्थापनले सवस्टेसन बनाउन काम नगरी विद्युत् नजोडिनुको कारण विद्युत् प्राधिकरणको नभएर सेज जिम्मेवारीबाट भागेको रहेको उहाँको दाबी छ।

प्राधिकरणले अहिले तिलोत्तमा नगरपालिकाको योगीकुटी सवस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारणलाइनको निर्माण गरिरहेको छ। हाल त्यहाँ रहेको ३३ केभी सिङ्गल सर्किट प्रसारणलाइनमार्फत् सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारणलाइन बनाउन लागेको पाधिकरणले जनाएको छ।

योगीकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारणलाइन लैजानुपर्ने भएकाले वनको कारणले काम अवरुद्ध भएको हो। भरौलिया–दगदही खण्डमा प्रसारणलाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन्। अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकारबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो।

कार्यकारी निर्देशक घिसिङले अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्याउने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रो तर्फबाट कुनै समस्या हुँदैन।’ उहाँले भन्नुभयो– ‘उद्योगको काम गर्न कन्ट्रक्सन पावर दिए पनि केही काम भएको छैन। सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको छैन।’

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् नपुग्दा उद्योग खोल्न सम्झौता गरेका १९ उद्योगको संरचना निर्माण कार्य शुरू हुन सकेको छैन। तर, सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट भने प्राधिकरणको दोहोरो निर्णयका कारण समस्या परेको बताउनुहुन्छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै कार्यकारी निर्देशक भट्टले पहिले ११ केभीमा विद्युत् जोड्ने भने पनि पछि प्राधिकरणले ३३ केभीको प्रसारणलाइन बनाउने सूचना निकालेपछि सवस्टेसनको आवश्यकता भएको बताउनुभयो।

भट्टले भन्नुभयो– ‘११ केभीबाट बत्ति दिन सकेको भएको भए हामीलाई सवस्टेसनको आवश्यकता पर्ने नै थिएन। प्राधिकरणले बनाउने भनेको प्रसारणलाइन सेज क्षेत्रका लागि मात्र होइन। सोहीकारण छुट्टै सवस्टेसनको आवश्यकता देखियो।’ प्राधिकरणले ११ केभीएबाट विजुली नदिएमा तत्कालका लागि छुट्टै फिडर राखेर उद्योगलाई विद्युत् दिने समेत उहाँले जानकारी दिनुभयो। केही समयभित्रै सवस्टेसन बनाउनका लागि टेन्डर आह्वान गरिने समेत उहाँले जानकारी दिनुभयो। विद्यत् प्राधिकरणको दोहोरो कुराका कारण उद्योगीले बिजुली नपाउने उहाँको आरोप छ।

‘नेपाल विद्युत प्राधिकरणको दोहोरो निर्णयका कारण समस्या भएको छ।’

डा. चण्डिका प्रसाद भट्ट
कार्यकारी निर्देशक
सेज प्राधिकरण

उहाँले वन क्षेत्रको समस्या प्राधिकरणले समाधान गर्न नसकेको आरोप लगाउनुभयो। सोही कारण १ सय वटा पोल गाड्न बाँकि रहे पनि सेजलाई कुनै ढिलाइ नभएको भट्टको भनाइ छ। उहाँले भन्नुभयो– ‘अहिले हामीलाई उद्योग सञ्चालनको लागि विद्युत् आवश्यक परेकै छैन। सेजमा उद्योग चल्ने एक वर्षपछि मात्र हो। अहिले थ्रि फेज लाइन नै पर्याप्त छ। हाम्रो लक्ष्य अुनसार पनि एक वर्षपछि उद्योग सञ्चालनमा आउने हो। सोही समयमा विद्युत् उपलब्ध भए त भइहाल्यो।’

भट्टका अनुसार आगामी आवमा बजेट राखेर मात्र सवस्टेसन बनाउने काम अघि बढ्नेछ। ‘हाम्रो कार्यतालिका अनुसार अबको ९ महिनाभित्र सवस्टेसन निर्माण हुन्छ, १२ महिनामा उद्योग चल्छ।’ उहाँले विद्युत्बाहेक सबै काम सकिसकेको पनि जानकारी दिनुभयो। विद्युत् नभएकै कारण उद्योगहरू त्यहाँ नगएको उहाँको दाबी छ। तर, उद्योगका संरचना निर्माणका लागि आवश्यकपर्ने विद्युत् भने ११ केभी लाइनमार्पmत् उपलब्ध गराइएको विद्युत् प्राधिकरणले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्