सारापोभा केर्बरसँग पराजित



मेलबर्न, (एजेन्सी)
मारिया सारापोभाको डोपिङ प्रतिबन्धबाट कोर्टमा फर्केर ग्रान्डस्लाम उपाधि जित्ने धोको यसपटक पनि पूरा भएन। शनिबार भएको खेलमा जर्मनीकी एन्जेलिक केर्बरले सारापोभालाई ६–१, ६–३ ले हराएकी हुन्। २१औं वरियताकी केर्बरले रुसी खेलाडीविरुद्ध खेल जित्न केवल ६४ मिनेटको समय लागेको थियो। २०१६ की च्याम्पियनले अन्तिम १६ मा ताइवानकी हसीह सु वेईसँग खेल्ने पनि पक्का गरिन्।

यसैगरी हेएन चुंग अस्ट्रेलियन ओपनको अन्तिम १६ मा पुग्ने पहिलो दक्षिण कोरियाका खेलाडी बनेका छन्। २१ वर्षीय चुंगले जर्मनीको पुरुष टेनिसको भविष्यका तारामध्ये एक खेलाडी एलेक्सान्डर जेरेभलाई पाँच सेटमा हराएका थिए। जबकी जेरेभले शुरुको दुई सेट जितेका थिए।

यस्तै प्रतियोगितामा उपाधि दाबेदार रोजर फेडेरर र नोभाक जोकोभिच चौथो चरणमा पुगेका छन्। स्विजरल्यान्डका फेडेररले फ्रान्सका रिचार्ड गेसकेटलाई ६–२, ७–५, ६–४ ले हराएका थिए। तर सर्बियाली खेलाडी जोकोभिचले चोटका कारण पनि अन्तिम १६ मा स्थान सुरक्षित गरे। उनले अल्बर्ट रामोस भिनोलासलाई ६–२, ६–३, ६–३ ले पन्छाएका थिए।

प्रतिक्रिया दिनुहोस्