ओली–प्रचण्डबीच तीन एजेन्डामा सहमति



मधुसूदन रायमाझी, काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि एकताको साझा दस्तावेज बनाएर अगाडि बढ्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताका लागि साझा दस्तावेज बनाएर अगाडि बढ्ने सहमति भएको हो।

ओली निवास भक्तपुरको बालकोटमा शनिबार दुई अध्यक्षबीच भएको छलफलमा आज (आइतबार) बस्ने एकता संयोजन समितिको बैठकको एजेन्डा तय गरेको छ। राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेज बनाएर अगाडि बढ्ने एजेन्डा तय गरेको हो।

ओली र प्रचण्डबीच आज बस्ने एकता संयोजक समितिको बैठकले पार्टी एकताको ठोस एजेन्डालाई अनुमोदन गर्ने सहमति गरेका छन्। एकता संयोजक समितिका बैठकले एकताको ठोस एजेन्डालाई अन्तिम रूप दिने गरी आवश्यक तयारी गरिएको छलफलपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो।

पार्टी एकताका लागि ओली र प्रचण्डबीच शुक्रबार ३ घण्टा वान टु वान छलफल भएको थियो। शनिबार भएको छलफलमा पनि २ पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्यदल बनाएर अघि बढ्ने विषयमा पनि सहमति भएको छ। वाम गठबन्धले कार्यदल नै बनाएर राष्ट्रियसभाको सिट बाँडफाँडमा पनि टुंगो लगाइसकेको छ। शनिबार २ अध्यक्षको छलफल हुनुभन्दाअघि ओली र प्रचण्डले आफ्नो पार्टीमा आन्तरिक छलफल गर्नुभएको थियो।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि १ हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुने बताउनुभएको छ। उहाँले वैचारिक र संगठनात्मक कार्यदल बनाएर सबै कुरा टुंगो लगाइने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्