चिनियाँ अन्तरिक्ष केन्द्र नियन्त्रण बाहिर



बेइजिङ, (एजेन्सी)
पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको एक चिनियाँ अन्तरिक्ष केन्द्र आगोको गोलाका रूपमा पृथ्वीमा खस्न सक्ने अन्तरिक्ष विज्ञहरुले चेतावनी दिएका छन्।

सन् २०११ मा प्रक्षेपण गरिएको विशाल टियाङगोङ–१ भू–उपग्रहसँग चीनको अन्तरिक्ष एजेन्सीको रेडियो सम्पर्क विच्छेद भइसकेको छ र विज्ञहरुले उक्त भू–उपग्रह केही महिनाभित्रै वायुमण्डलमा पुनः प्रवेश गर्न सक्ने अनुमान गरेका छन्।

‘स्वर्गको दरबार’ अर्थ दिने नाम पाएको उक्त यान अहिले पृथ्वीको वायुमण्डलतर्फ धस्सिने क्रममा रहेको छ र हाम्रो धर्तीतर्फ अगाडि बढिरहेको छ। प्रायः अन्तरिक्षका फोहर पृथ्वीमा खस्ने क्रममा जलेर नस्ट हुने गर्छ तर यसको आकारका कारण टियाङगोङ –१ धरातलसम्मै पुग्ने अनुमान गरिएको छ।

युरोपियन स्पेस एजेन्सी (ईएसए)का वैज्ञानिकहरुले एक ब्लगमा उक्त अन्तरिक्ष केद्रको पिण्ड र संरचनामा प्रयोग भएका पदार्थ चिन्ताको विषय भएको र यसको बचेको केही अंश पृथ्वीको सतहसम्म आइपुग्ने सम्भावना रहेको उल्लेख गरेका छन्।

अन्तरिक्ष उडानको इतिहासमा अन्तरिक्षबाट टुक्राहरु खसेर अहिलेसम्म कोहि हताहत भएको समाचार आएको छैन।

ईएसएका वैज्ञानिकहरुले उक्त भू–उपग्रह मार्च १७ देखि अप्रिल २१ सम्ममा पृथ्वीको वायुमण्डलमा छिर्ने पूर्वानुमान गरेका छन्। ईएसएले भने– ‘यान खस्न सक्ने स्थान ४३ डिग्री उत्तरदेखि ४३ डिग्री दक्षिण देशान्तरभित्र पर्नेछ। यसमा स्पेन, फ्रान्स, पोर्चुगल, ग्रिस आदि पर्छन्।
उक्र भू–उपग्रह भग्नावशेष खस्ने निर्दिष्ट स्थान र समय पूर्वानुमान गर्न नसक्ने ईएसएले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्