शुक्लाफाँटा नगरपालिकाद्वारा आठ वटा कानून निर्माण



 

कञ्चनपुर।  स्थानीय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आठ वटा ऐन, नियममावली र कार्यविधि निर्माण गरेको छ ।

प्रथम नगर सभाबाट ऐन, नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको हो । नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारबमोजिम स्थानीय तहका लागि आवश्यक कानून निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

संघीय कानूनसँग नबाँझिने गरी कानून निर्माण गरेका छौँ उहाँले भन्नुभयो, “ऐन, नियमावली र कार्यविधि निर्माण गरिएपछि कार्य गर्न सहजता भएको छ ।”

उहाँका अनुसार कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, कार्यपालिका नियमावली २०७४, नगरपालिका नगर कार्यविभाजन नियमावली २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारी आचारसंहिता २०७४ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

यसैगरी, नगरपालिकाले कार्यपालिका निर्णय आदेश र अधिकारको प्रमाणीकरण कार्य विधि नियमावली २०७४, स्थानीय तहको विनियोजन ऐन, स्थानीय तहको आर्थिक ऐन निर्माण गरेको छ ।

संविधान र संघीय कानूनसँग नबाझ्ने गरी आवश्यकताअनुसार अन्य ऐन, नियमावली र कार्यविधि निर्माण गरिँदै लैजाने नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।

नेपाल सरकार स्थानीय तह सञ्चालन ऐन २०७४ मन्त्रालयबाटै निर्माण भएर आएकाले झनै सहजता भएको उहाँको भनाइ छ ।

निर्माण भएका कानूनले नगरसभा सञ्चालन, कार्यपालिकाको बैठक सञ्चालन, करको दायरा निर्धारण, बजेट, आम्दानी र वडासम्म अधिकार प्रत्यायोजन गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्