युक्रेनी संसदबाट महत्वपूर्ण विधेयक पारित



किभ, (एजेन्सी)
युक्रेनको ससंदले बिहीबार हाल रसिया समर्थित पृथकतावादीहरुको कब्जामा रहेका पूर्वी भू–भागलाई पुनः एकीकरण गर्न लक्षित विधेयक पारित गरेको छ। साथै संसद आवश्यक परेमा ती भू–भाग फिर्ताका लागि सैनिक बल प्रयोग गर्नसमेत पछि नहट्ने पक्षमा सहमत भएको छ।

उक्त विधेयकमा हाल आक्रामक राष्ट्र रसियाको अस्थायी अधीनमा परेका क्षेत्रमा युक्रेनको दोनेतस्क र लुहान्स्कलाई उल्लेख गरिएको छ। राष्ट्रपति पेट्रो पोरोसेन्कोले उक्त नयाँ विधेयकको स्वागत गर्दै यसले राजनीतिक र कूटनीतिक उपायले पूर्वमा पुनःनियन्त्रण स्थापना गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्।

तर रसियाले भने यस कार्यले युक्रेनसँगको शान्ति सम्झौताको हत्या हुने चेतावनी दिँदै भयानक हिंसात्मक द्वन्द्व समाधानका लागि युक्रेन स्वयम् पनि जिम्मेवार रहेको जनाएको छ। सन् २०१४ को अप्रिलमा रसियाले युक्रेनको क्रिमिया कब्जा गरेको केही सातापछि युक्रेनको पूर्वी भागमा शुरू भएको हिंसात्मक भिडन्तमा १० हजार जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। सन् २०१५ मा बेलारुसको मिन्स्कमा भएको शान्ति सम्झौतापछि बल्ल सो हिंसा केही हदसम्म नियन्त्रित भएको थियो।

तर पनि बारम्बार त्यहाँ दोहोरिने गरेका हिंसात्मक भिडन्तका कारण पूर्ण रुपमा राजनीतिक सहमति हुन सकेको छैन। उक्त शान्ति सम्झौताका लागि रसिया, जर्मनी र फ्रान्सले पहल गरेका थिए। तर उक्त अभिायन राष्ट्रिय हित विपरीत रहेको भन्दै युक्रेनका थुप्रै राजनीतिक पार्टीले सो सम्झौता अस्वीकार गरेका थिए। यस विधेयकमाथि संसद अर्थात् सुप्रिम राडामा धेरै दिनसम्म गम्भीर छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्