निर्वाचनलाई प्रभावित नपार्न आग्रह  



काठमाडौं, (नेस)

प्रदेश राजधानी माग गर्दै भइरहेको आन्दोलनप्रति चासो प्रकट गर्दै निर्वाचन आयोगले आगामी माघ २४ गतेका लागि तोकिएको निर्वाचन प्रभावित हुन नदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले प्रदेशको मुकाम तोकेपछि देशका कतिपय जिल्लामा भएका आन्दोलनले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्ने भन्दै आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
माघ ७ गते सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशन गर्ने तथा माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेसमेत कार्यक्रम रहेको छ।
‘यस्तो स्थितिमा विशेष गरी दाङ र डोटीमा असहज वातावरण देखिएकाले सरकार, राजनीतिक दल, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, आमसञ्चारकर्मी, नागरिक समुदाय एवम् सबै सरोकारवालासँग निर्वाचनको अनुकूल वातावरण बनाइदिनका लागि’ आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्