२१ दललाई चुनाव चिह्न प्रदान



नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।
आयोगले नेकपा एमालेलाई सूर्य, नेपाली कांग्रेसलाई रूख, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा, संघीय समाजवादी फोरम नेपाललाई हातले समातेको मसाल र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता चिह्न प्रदान गरेको हो।
त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीलाई बस, नेपाल मजदूर किसान पार्टीलाई मादल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दापसहितको खुकुरी, बहुजन शक्ति पार्टीलाई जग, नेपाल परिवार दललाई साँचो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल नौलो जनवादी पार्टीलाई चुच्चोले चिठी बोकेको परेवा चिह्न प्रदान गरिएको छ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई गोलाकारभित्र हलो, विवेकशील साझालाई तराजु, नयाँ शक्ति पार्टी नेपाललाई देब्रे आँखा, नेपाल दलित पार्टीलाई इनार, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, बहुजन समाज पार्टी नेपाललाई जिराफ, गान्धीवादी पार्टी नेपाललाई भेडा, नेपाली जनता दललाई गोरुगाडाको पाङ्ग्रो र राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई षट्कोण चिह्न प्रदान गरिएको आयोग जनाएको छ।

प्रतिक्रिया दिनुहोस्