बागलुङको नयाँ गन्तव्य ‘पञ्चकोट’



बागलुङ। बागलुङ नगरपालिका–६ मा निर्माणाधीन ‘विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

धार्मिक र प्रकृतिप्रेमी पर्यटकलाई पञ्चकोटले लोभ्याएको छ । मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पञ्चकोटमा विश्वकै अग्लो १०८ फिटको विश्वशान्ति कलश, पाँच हजार ५५५ किलो मुक्तिनाथ महाघण्टलगायतका संरचना निर्माणको चरणमा छन् ।

स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संकल्प र पहलमा पञ्चकोटलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको हो । सम्पदा निर्माणले पूर्णता नपाउँदै दैनिक सयौँ भक्तालु तथा पर्यटक पञ्चकोट आउने गरेको पञ्चकोटका कार्यालय सचिव नारायण गौतमले बताउनुभयो । गत पुसमा आयोजित बागलुङ महोत्सवको १० दिनको अवधिमा मात्र तीन हजारभन्दा बढी पर्यटक पञ्चकोट घुमेका थिए ।

महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले पनि आगन्तुकलाई पञ्चकोट घुमाउने लक्ष्य राखेको थियो । सो अवधिमा एक हजार जनाले रु ५० को टिकट काटेर त्यहाँ रहेको ‘सिस महल’को अवलोकन गरेका थिए । पछिल्लो एक वर्षमा ‘सिस महल’ अवलोकनबाट रु छ लाख ९१ हजार आम्दानी भएको छ ।

सदरमुकामबाट आठ किमिको दूरीमा रहेको पञ्चकोट घुम्नेको संख्या बढ्दै गएको छ । शनिबार र सार्वजनिक बिदामा पर्यटकको घुइँचो नै लाग्ने गरेको पञ्चकोटका महासचिव वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

“विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’को गुरुयोजना बनाएर तीन वर्षअघिदेखि पूर्वाधार निर्माणको काम भइरहेको छ, आउँदा केही वर्षमा पञ्चकोटले पूर्णता पाउँछ, देशकै ठूलो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यसको विकास हँुदैछ,” उहाँले भन्नुभयो । पञ्चकोटमा ठूला संरचना निर्माणको चरणमा छन् भने गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, ‘सिस महल’ लगायतका स–साना मन्दिर निर्माण भइसकेका छन् । धामको सम्पूर्ण पूर्वाधार निर्माणमा करिब रु दुई अर्ब खर्च हुने बताइएको छ ।

एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमलनयनाचार्य संस्थापक रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत काम भइरहेको छ । पञ्चकोटको विकाससँगै मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी तथा यससँगै जोडिएका धर्म, संस्कृति र सभ्यताको संरक्षण हुने ठानिएको छ । सदरमुकामबाट सवारी साधनमा आधा घण्टामै पुग्न सकिने पञ्चकोट प्राकृतिक हिसाबले पनि मनोरम भूगोलमा अवस्थित छ । पञ्चकोट हिमशृङ्खलाको अवलोकनका लागि उत्तम गन्तव्य मानिन्छ ।

सबै संरचना बनेपछि पञ्चकोट प्रसिद्ध धार्मिक पर्यटकीय सम्पदाका रुपमा विकासित हुने निश्चित छ । जिल्लाको आर्थिक विकास र समृद्धिमा पनि पञ्चकोटले टेवा पु¥याउने ठानिएको छ । पूर्वाधार निर्माणमा सहयोग जुटाउने उद्देश्यले पञ्चकोटमा वर्षेनी विश्व शान्ति महायज्ञ लगाउने गरिएको छ । यस वर्ष पनि आउँदो फागुनमा महायज्ञ आयोजना गरिने पञ्चकोट व्यवस्थापन समितिले जनाएको छ । यहाँ विश्वकै अग्लो १०८ फिटको तामाको कलश निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्