नाङ्गा प्रदर्शनकारी पक्राउ



वार्सा, (एजेन्सी)
अस्कवित्जस्थित नाजी मृत्यु शिविरसामु नाङ्गिएर एउटा भेंडा मारी सो स्थानको अपमान गरेको अभियोगमा प्रहरीले १२ जनालाई गिरफ्तार गरेको छ। पोलिस शहर ओस्विएसिमस्थित एक अदालतले तिनीहरूमध्ये दुई जनालाई जनही एक वर्षभन्दा लामो कारवास सजाय सुनाएको छ भने बाँकीलाई आर्थिक दण्ड तोकेको छ।

गत मार्चमा घटेको सो घटनाको दौरान तिनीहरूले ‘कामले तिमीहरूलाई मुक्ति दिन्छ’ भन्ने अलोकप्रिय नारा पनि लगाएका थिए। सो यातना शिविरमा नाजीहरूले करिब ११ लाख मानिसको हत्या गरेका थिए। उक्त घटनाको उद्देश्य स्पष्ट नभए पनि पछि सो समूहले आफूहरूले युक्रेनको युद्धविरुद्ध प्रदर्शन गरेको बताएको थियो।

अस्कवित्ज संग्रहालयका निर्देशक पियोटर सिविन्सिकीले तिनीहरूले सो शिविरमा मारिएका लाखौं व्यक्तिका नातेदारहरूलाई चोट पुर्याएको आरोप लगाएका छन्। २० देखि २७ वर्ष उमेरका सो समूहमा छ जना पोलिस, चारजना बेलारुसी र एक जना जर्मन रहेको प्रहरीले बताएको छ।
तिनीहरूले त्यहाँको कार पार्कमा पटाका पड्काइसकेपछि संग्रहालयका गार्डहरूले हस्तक्षेप गर्नुअघि आफूहरूलाई गेटमा सिक्रीले बाँधेका थिए। स्थानीय सञ्चार माध्यमले तिनीहरूले आफूमाथि भएको हस्तक्षेपको भिडियो खिच्न ड्रोन विमानको प्रयोग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्