ट्रम्पको स्वास्थ्य परीक्षण कुनै असामान्य लक्षण देखिएको छैनः चिकित्सक



वासिङ्टन, (एजेन्सी)
ह्वाइट हाउसका चिकित्सकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पूर्ण स्वास्थ्य जाँच भएको, उनको स्वास्थ्य ठीक रहेको र उनमा कुनै असामान्य लक्षण नदेखिएको बताएका छन्। मंगलबार डाक्टर रोनी ज्याक्सन भने– ‘मलाई उनको देख्ने, सुन्ने र सोच्ने शक्ति अर्थात् उनको मानसिक स्वास्थ्यलाई लिएर कुनै चिन्ता छैन।’

गत हप्ता ७१ वर्षीय ट्रम्पको तीन घण्टा लामो मेडिकल चेकअप भएको थियो। राष्ट्रपति बनेपछि उनको यो पहिलो पटक स्वास्थ्य जाँच भएको हो। यसअघि अमेरिकामा एक किताब सार्वजनिक भएको थियो, जसमा ट्रम्पको मानसिक स्थितिलाई लिएर प्रश्न उठाइएको थियो। ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीमा डाक्टर ज्याक्सनले ट्रम्पको स्वास्थ्य दुरुस्त रहेको बताए। उनले स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाले राष्ट्रपति कार्यकालका क्रममा राष्ट्रपतिको स्वास्थ्य ठीक हुने बताए। उनको मुटु र स्वास्थ्य मदिरा र धूमपान नगर्ने व्यक्तिको जतिकै स्वस्थ रहेको डाक्टर ज्याक्सनले बताए।

फ्राइड चिकन र डाइट कोकमा निर्भर रहेका र व्यायाम पटक्कै नगर्ने व्यक्ति कसरी स्वस्थ हुनसक्छ भन्ने एक प्रश्नको जवाफमा डाक्टर ज्याक्सनले भने– ‘यसलाई भन्छ वंशाणुगुण। यो उनको वंशाणु गुणको कमाल हो।’ यद्यपि डाक्टर ज्याक्सनले ट्रम्पलाई कम तेल भएको खाना र धेरै व्यायाम गर्नुले फाइदा हुने बताए। गत शुक्रबार सेनाका डाक्टरले मेरिल्यान्डको बेसेज्दास्थित वाल्टर रीड मेडिकल सेन्टरमा राष्ट्रपतिको सम्पूर्ण स्वास्थ्य जाँच भएको थियो। परीक्षणपछि उनले जाँच राम्रो तरिकाले भएको जानकारी दिए।

स्वास्थ्य परीक्षणमा डाक्टर ज्याक्सन पनि संलग्न थिए। उनी राष्ट्रपति ट्रम्पका आधिकारिक डाक्टर हुन्। ज्याक्सन अमेरिकी नौसेनामा रियर एडमिरल थिए। उनी बाराक ओबामाका पनि आधिकारिक डाक्टर थिए। ट्रम्पको जाँचका लागि अमेरिकाका पूर्वसैनिक मामिलाका विभागले ‘मन्ट्रियल कग्निटिव एसेसमेन्ट‘ न्युरोसाइकोलोजिकल टेस्टको प्रयोग गरेको हो। उक्त परीक्षणको माध्यमबाट कुनै पनि व्यक्तिले कुनै काममा ध्यान दिने, उसको स्मरण शक्ति, भाषा, सोच्ने क्षमता, हिसाब गर्ने क्षमता र अन्य स्वास्थ्यसम्बन्धी क्षमताको परीक्षण गरिन्छ।

लेखक माइकल वुल्फको प्रकाशित किताब ‘फायर एन्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’मा ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘बच्चा’का रूपमा हेर्ने र उनलाई ‘तत्काल शान्त गर्न’ आवश्यक भएको उल्लेख गरेको छ। ट्रम्पले वुल्फको आरोपलाई अस्वीकार गरेका थिए। उनको किताबलाई ‘झुठको थुप्रो’ भएको बताएका थिए। अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले पनि राष्ट्रपतिको मानसिक स्वास्थ्यसम्बन्धी आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका थिए।

सन् २०१५ मा ट्रम्पका निजी डाक्टर हेराल्ड बर्नस्टिनले चुनावअगाडि भएको जाँचपछि राष्ट्रपति बन्न लागेका ट्रम्प अहिलेसम्मका सबैभन्दा स्वस्थ राष्ट्रपति हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्