सिलवाललाई खोज्न प्रहरीको सर्कुलर



काठमाडौं, (नेस)
नेपाल प्रहरीले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा नेकपा एमालेका सांसद नवराज सिलवाललाई ७ वटै प्रदेश मातहतका प्रहरीलाई खोजतलास कार्यमा सहयोग गर्न सर्कुलर जारी गरेको छ। ७ वटै प्रदेशमा गरेको सर्कुलरमा ललितपुरका नवराज सिलवाललाई खोजतलास गरी फेला पारेमा काठमाडौंमा बुझाउन निर्देशन दिएको छ।

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा सिलवालसँग सोधपुछका लागि प्रहरीले खोजी जारी राखेको छ। तर, सिलवाल मलेसियामा हुने एक कार्यक्रममा भाग लिन भन्दै केही साताअघि त्यसतर्फ प्रस्थान गरेपछि नै नेपाल नफर्किएको बताइएको छ।

अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई गत १८ गते पत्र काटेको थियो। तर, ललितपुरले सिलवाल नभेटिएको भन्दै जवाफ दिएपछि प्रहरीले सबै प्रहरी कार्यालयमा पत्राचार गरेको हो। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसपी रामदत्त जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सिलवाल घटनाको विषयमा अनुसन्धान भइरहेकाले केही भन्न मिल्दैन। हामी सूक्ष्म अनुसन्धानकै क्रममा छौं। अनुसन्धानको प्रतिवेदन बाहिर आएपछि मात्रै हामी यो विषय बाहिर ल्याउँछौ।’

प्रतिक्रिया दिनुहोस्