स्थानीय जनताको एउटै आवाज, अरू कुरा थाहा छैन रानीपोखरी जोगाउनुस्



काठमाडौं, (नेस)
स्थानीय जनताले रानीपोखरीको अस्तित्व जोगाउन आग्रह गरेका छन्। रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिद्वारा बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन्। रानीपोखरीलाई प्रताप मल्लको पालाको जस्तै बनाइनुपर्ने उनीहरूको माग छ।

रानीपोखरी बचाउ अभियानका अभियन्ता शैलेश शाक्यले काठमाडौं महानगरपालिकाद्वारा पुनर्निर्माणका लागि ठेक्का दिइँदा त्यहाँको बालुवा र इँटा हराएको र कंक्रिटको मात्रै पर्खाल लगाइएकाले यसको खोजी गर्न माग गर्नुभयो। कामनपाको गल्तीले गर्दा रानीपोखरीको अस्तित्व खतरामा परेको बताउँदै उहाँले भन्नुभयो– ‘भूकम्प जाँदा मन्दिर मात्र भत्किएको थियो। अहिले पानीबिनाको रानीपोखरी देखिएको छ। कंक्रिटको वाल लगाउन अनुमति दिने कामनपाका पदाधिकारीलाई समेत कारबाही गर्र्नुपर्छ।’

अभियन्ताद्वय नरेन्द्रवीर शाक्य र स्थानीय विश्वनाथ श्रेष्ठसहित कार्यक्रममा बोल्ने एक दर्जनभन्दा बढी अभियन्ताले पुरानै संरचनाको रानीपोखरी बनाइनुपर्ने र हराएको पुरातत्त्विक वस्तुको खोजी गरिनुपर्नेमा जोड दिनुभयो।

स्मरणीय छ, रानीपोखरी पुनर्निर्माणमा देखिएको विवाद समाधान गर्न गठित विज्ञको समितिले पनि प्रताप मल्लको पालाको जस्तै रानीपोखरी बनाउन सिफारिस गरेको छ।

यसैबीच सार्वजनिक सुनुवाइमा देखिएका विषयवस्तु समेटेर आगामी आइतबार कामनपालाई प्रतिवेदन बुझाउने तयारी गरेको उक्त समितिका संयोजक एवं पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले जानकारी दिनुभयो। यसअघि सो समितिले रानीपोखरीको सामग्री उत्खनन गर्नुका साथै हालसम्मको नक्सा सार्वजनिक गरेको थियो।

संयोजक कार्कीले भने पुरानै शैलीमा मन्दिर निर्माण गर्नका लागि हाल राखिएका कंक्रिट हटाउन सिफारिस गरिएको जानकारी दिनुभयो।
समितिको पहिलो सिफारिसमा रानीपोखरीलाई शिखर शैलीमा पुनर्निर्माण गरिनुपर्ने, पुरातात्त्विक विषयको थप अध्ययन गर्न विशेषज्ञ समिति गठन गरिनुपर्ने, पोखरीको पानीको स्थायित्वका लागि पानीविज्ञको समिति गठन गरिनुपर्ने जस्ता विषय समेटिएका छन्।

संयोजक कार्कीका अनुसार सिफारिसमा पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको फाउन्डेसनको अध्ययन गर्न बाँकी रहेकाले त्यसको अध्ययन गरिनुपर्ने र मन्दिर प्रवेश गर्दा बनाइएको पुल भत्काएर पुरानै शैलीमा निर्माण गरिनुपर्ने जस्ता विषय पनि समेटिएका छन्।

तीन चरणमा दिइएको उक्त समितिको सुझाव मल्लकालीन अवस्थामा सोह्रहाते गणेशलगायतका अन्य मन्दिर रानीपोखरी परिसरभित्र परेकाले सबै संरचना पोखरीको परिसरभित्रै पारिनुपर्ने, वरिपरि निर्माण भएका संरचना तत्काल भत्काइनुपर्ने, पोखरीमा पानी जम्मा गर्न विभिन्न स्थानमा निर्माण गरिएका पुराना धाराहरूको उत्खनन गरिर्नुपर्नेलगायत छन्।

काठमाडौं कामपाको स्वामित्वमा रहेको रानीपोखरी ०७२ वैशाख १२ गते गएको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले ०७३ माघ २ गते रानीपोखरी पुनर्निर्माण अभियानको उद्घाटन गरेलगत्तै पुरातत्व विभागले उपलब्ध गराएको ड्रइङ डिजाइनको निर्माण आरम्भ गरिएको थियो। ११ करोड २० लाख रुपियाँमा रानीपोखरी पुननिर्माणको टेण्डर आब्हान गरिए पनि तीनजना ठेकेदारले रकम घटाएर ७ करोड १० लाखमा जिर्णोद्धार गर्ने गरी सम्झौता भएको थियो।

रानीपोखरी करिब साढे ३ सय वर्षपछि पहिलोपटक पूर्ण रूपमा सफा गर्न थालिएको हो। विगतमा कामपाले पोखरी सफा गर्न खोज्दा पुरातत्व विभाग र स्थानीयबाट अवरोध आएको थियो। अहिले सबैको सहमतिमा पोखरी सफा गरी माछा स्थानान्तरण गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्