सदुपयोग कि दुरूपयोग!



मान्छेका इच्छा पनि हजारौं हुन्छन् भन्या। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं आफू सानो छँदा यसो गाउँका साथीहरू माघे संक्रान्तिको मेला भर्न गएको देख्दा सुटुक्क भागेर लुखुरलुखुर बबी चप्पल पड्काउँदै गइन्थ्यो। अनि मेला भरिन्थ्यो, रमाइन्थ्यो। यसपालि पनि माघे संक्रान्तिमा यो अदृश्य प्राणीले आफ्नो दूरबिन नुवाकोटतिर के सोझइएको थियो, अचम्मै देख्यो भन्या।

निकै ठूला जुरा भएका, बलिया, मोटा, जीउडाल मिलेका गोरु मजाले जुधाइँदो रहेछ नुवाकोटमा। हेर्नेको लर्को नै। खचाखच मान्छे। कसको गोरुले जित्छ, कसको गोरुले हार्छ। ल है फलानाको गोरुले लघार्यो, फलानाको गोरुले जित्यो। यस्तै रमाइलो हुँदो रहेछ त्यहाँ।

यही रमाइलो हेर्न भनी नुवाकोटबाट प्रदेशसभा सदस्य जित्नुभएका एक महोदयले हेलिकोप्टर नै चार्टर गरी आफूलगायत केही एमालेका साथी अनि पर्यटन व्यवसायीलाई लिएर नुवाकोट नै जानुभएछ। मनोरञ्जन भन्या सित्तैं आउने हो र यता हेलिकोप्टर चढ्दा पनि मनोरञ्जन, उता गोरु जुधेको हेर्दा पनि मनोरञ्जन। ‘नेपाली काइदा एकतिर जान्दा दुईतिर फाइदा’ भएन र भन्या।

‘भूकम्पले थिलोथिलो भएर घर बनाउन नसकी यसै बसेका भूकम्पपीडितहरू चिसो रात काट्न नसकेर पालमुनि गुजारा काट्दै छन्, सांसद महोदयहरू आफ्नै गाउँको मेला हेर्न नि हेलिकोप्टर प्रयोग गर्छन्, खै के विकास गर्लान् यिनले?’ –यस्तै खासखुस गर्दै थिए आसपासमा बसेका दुई युवा। अर्कातिर बसेकाहरूको आवाज यस्तो थियो– ‘बरु हेलिकोप्टर चढ्ने खर्च गरिब गुरुवालाई दिएको भए पनि त हुन्थ्यो नि।’ यहाँहरूको केही गुनासो भए सुझावको अपेक्षा छ, कि कसो पाठकवृन्द⁄

प्रतिक्रिया दिनुहोस्