आर्मीले जित्यो खप्तड गोल्डकप



नेपाल समाचारपत्र
काठमाडौं,
नेपाल एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनल खेलमा एपीएफलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। गत संस्करणमा पहिलो चरणबाटै बाहिरिएको आर्मीले यसपटक ११ लाख ११ हजार १ सय ११ नगद जित्दै आफूलाई भाग्यशाली बनायो। एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँमा चित्त बुझाएको थियो।

आर्मीले पाँचौं पेनाल्टीलाई गोलमा परिणत गर्दा एपीएफका सुदीप शिखाकारले गोल गर्न सकेनन्। उनको प्रहार पोलमा लागेर फर्किएको थियो। आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दीप लामा, दीपक गुरुङ र विवेक बस्नेतले गोल गरे। एपीएफका अञ्जन विष्ट, नवीन लामा, पासाङ लामा र रञ्जन विष्टले गोल गर्न सके। यो आर्मीको यस सिजनको चौथो उपाधि पनि हो। गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्डकपको उपाधि जितेको आर्मीले वैशाखमा वीरगन्जमा भएको विशाल मेमोरियलको उपाधि पनि जितेको थियो।

अर्को वर्ष २१ लाख
आयोजक सुदूरपश्चिम स्पोर्टस् क्लबले पुरस्कार राशिमा झन्डै दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ। सोमबार फाइनल दौरान सुदूरपश्चिमले पुरस्कार राशीमा वृद्धि गरिने क्लबका अध्यक्ष सुदेश हमालले जानकारी दिए। यससँगै खप्तड गोल्डकपको तेस्रो संस्करणको विजेताले २१ लाख रुपियाँ प्राप्त गर्नेछ। उपविजेताले १० लाख ५० हजार रुपियाँ पाउने आयोजकले जनाएको छ। स्थानीय व्यक्तिहरूको हौसला र विश्वासका कारण पुरस्कार राशीमा वृद्धि गर्न सफल भएको हमालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्