जाजरकोटलाई बचाऔं



सधैँ महामारी खेप्नुपर्ने जाजरकोटलाई बचाउन सरकारले केही कदम चाल्नुपर्छ। पश्चिम नेपालको पहाडी जिल्ला जाजरकोटमा तीन साताअघिदेखि महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ सयभन्दा बढी बिरामी परेको अप्रिय खबर सार्वजनिक भएको छ। स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी, दूषित पानीको प्रयोग र सरसफाइमा पर्याप्त ध्यान नदिइएको कारण भाइरल ज्वरो यसरी व्यापकरुपमा फैलिएको स्वास्थ्यविज्ञहरु बताउँछन्। स्वास्थ्यकर्मी र औषधिको सहज उपलब्धता नभएको कारण यो रोगले दिन–प्रतिदिन महामारीको रुप लिएको पाइएको छ।

सरकारको ध्यान जाजरकोटको अत्यन्त कमजोर स्वास्थ्यस्थितिप्रति पुग्न नसकेको कारण रोगले महामारीको रुप लिएको हो। सरकार अहिले तराई मधेसको शीतलहरप्रति केन्द्रित छ। तर, अभागी भूगोल भएको जाजरकोटको पछिल्लो स्वास्थ्यस्थितिप्रति सरकारी उदासीनता आफैँमा आलोचनाको विषय बन्न पुगेको छ। पराजित मानसिकतामा रहेको सरकार अहिले प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमै बढी मात्रामा केन्द्रित रहेको पाइन्छ। सम्भवतः यसै कारण जाजरकोटको दयनीय स्थितिप्रति उसको ध्यान पर्याप्त मात्रामा पुग्न सकेको छैन।

उदासीनताकै कारण अकालमा ज्यान जाने गरेका अनेक उदाहरण हामीमाझ रहेका छन्। स्मरणीय छ, अभागी जिल्ला जाजरकोटमा यसअघि २०६६ सालमा ६ महिनासम्म झाडापखाला रोग फैलिँदा ३५० जनाको ज्यान जानुका साथै ३० हजार जना बिरामी परेका थिए। त्यसपछि २०७२ सालमा पनि ३ दर्जन गाउँमा स्वाइन फ्लुको प्रकोप दुई महिनासम्म फैलिँदा १७ जनाको ज्यान जानुका साथै ५ हजार जना बिरामी परेका थिए। दूषित पानीको प्रकोप नै यो समस्याको मूल जड भएको स्वास्थ्यकर्मीहरुको अनुमान छ। राज्यको ध्यान पनि पर्याप्त मात्रामा पुग्न नसकेको कारण जाजरकोटमा पटक–पटक रोगहरु फैलिएर ठूलो संख्यामा मानवीय क्षति भइरहेको हो। यो स्थितिलाई नियन्त्रणमा लिन सरकारले विशेष प्रयास गर्नु अत्यावश्यक भइसकेको छ।

– सूचना केसी, चितवन
राजनीतिक धार गन्तव्यहीन हुने त होइन ?
विषय आफैंमा साध्य मान्नेको जमात ठूलै छ। विषयलाई सफलता उन्मुख गराउने विवेक साध्य हो। त्यसैले कुनै पनि क्षेत्र चाहे त्यो सामाजिक, राजनीतिक क्षेत्र किन नहोस्, यदि विषयवस्तुको गाम्भीर्यता र यसले पछि पर्ने सम्भावित खतरलाई समयमै समाधान गर्ने उपाय सुझाइएन भने यसले दूरगामी असर पुर्याउन सक्छ। तसर्थ वर्तमान समयमा नेपालको राजनीतिक वृत्तचित्रमा सलबलाइरहेको विषयवस्तुलाई आपसी समझदारी र दूरदृष्टि राखी समाधान खोजिनुपर्दछ। कुनै पनि पार्टीले हठवादी चिन्तन बढाउनुहुँदैन। हिजो सबै मिलेर जसरी संविधानको रुप तयार गरे⁄गराए, अब पनि प्रजातन्त्रको निष्ठा र चरित्रलाई कायम गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ। नेपालको संविधानमा उल्लिखित बुँदालाई आफ्नो पक्षपोषण गर्ने गरी कोही कसैले पनि व्याख्या गर्नु⁄गराउनुहुँदैन। हो, राजनीतिमा पक्ष–विपक्ष हुनसक्ला, चुनावी मैदानमा जाँदा एक–अर्कालाई विविध किसिमले सम्बोधन गर्न सकिएला। तर जब निर्वाचन सम्पन्न भइसक्छ, त्यसबाट प्राप्त उपलब्धिलाई सबै स्वीकार्न जरुरी हुन्छ।

जनप्रतिनिधि हाम्रा साझा हुन्। यहाँ कोही कसैको लागि नभई सिंगो मुलुकको जिम्मेवारी उनीहरुमा छ भन्ने विश्वास राख्नुपर्दछ। लोकतन्त्रलाई विश्वास गर्ने कुनै पनि दल विशेषले लोकतन्त्रको धज्जी उडाउने काम गर्नुहँुदैन। अहिले देश राष्ट्रिय सभा निर्वाचन अध्यायदेश जारी गर्ने⁄नगर्नेबीच विवादमा फस्दै गएको छ। एक पक्ष यस्तो हुनै पर्दछ भन्दै छन् भने अर्को पक्ष यसो हुनुहुँदैन भन्दै छन्। यो अध्यादेशको बारे हिजो संसद् रहँदा पनि विवादमै रहेको थियो। अहिले झन् यसको पक्ष र विपक्ष भएर बहस चलिरहेको छ। यस अवस्थामा यदि संयम र धैर्यता राजनीतिज्ञमा भएन भने निश्चय पनि यसले दूरगामी असर नपुर्याउला भन्न सकिन्न। तसर्थ समय, परिस्थितिअनुसार जनअनुमोदित शासन प्रणालीलाई शिरोधार्य गर्नु सबैको जिम्मेवारी हो।

लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसको पक्ष–विपक्षमा नबोली संविधानप्रदत्त र संविधानले दिएको अधिकार प्रयोग गर्ने⁄गराउने कुरामा बढी विवेक प्रयोग गर्ने बेला आएको छ। कानुनी राज्यको अवधारणाअनुसार राज्य सञ्चालन हुनुपर्दछ भनी वकालत गर्ने कानुनका व्याख्याताले पनि समय, परिस्थिति, जनअभिमत र संविधानले दिन खोजेको आसय विपरीत पक्ष–विपक्ष हुने बेला भएको छैन। वर्तमान समयमा जनताले खोजेको अभिमतअनुसार संविधानलाई गतिशील बनाउने वातावरण बनाउनुपर्दछ।

यदि कसैले निश्चित समयको लागि उसको विचार अनुसार लोकतन्त्रमा आधारित शासन व्यवस्था सञ्चालन गर्न पाउँछ भने त्यसको परीक्षा नजिक आयो भन्ने सोच गरी उसलाई काम गर्ने अवसर दिनुपर्दछ। हुनसक्छ त्यस बेला आफू कमजोर अवस्थामा गुज्रनुपर्ला तर एउटा कुरा सोच्नै पर्छ, त्यो समय लामो हुँदैन। यस्तो अवसर पुनः दोहोरिएर आफ्नो पोल्टामा पनि पर्न सक्छ। कसैले केही समय शासन गर्यो भने आकाशै खस्छ भन्ने सोच राख्नुहुँदैन। यो संकिर्ण मानसिकता हो। यसले कहिल्यै पनि राजनीतिक सफलता प्राप्त हुँदैन। लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक सफलता लिनु छ भने जनतालाई सर्वोपरि ठान्नुपर्दछ।

राजनीति गर्ने प्रत्येक व्यक्तिले चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी आफ्नो जिम्मेवारी निभाउनुपर्दछ। अहिले लोकतन्त्रवादी र वाम गठबन्धनबीच जो दोहोरी चलिरहेको छ यसले देशको राजनीतिक धार कहाँ पुग्ने हो, गन्तव्यविहीन हुने त होइन ? त्यसैले यसको हेक्का राखी हलो अड्काएर गोरु चुट्ने उखान चरितार्थ गर्नुहुँदैन। एकल संक्रमणीय र बहुमतीयबीच आपसी खिचातानी गरी हिलो छ्याप्ने काम गर्नु गलत मानसिकता हो। आफ्ना अनुकूल भए समर्थन र नभए विरोध गर्ने मानसिकता बढाउनु भनेको मौकामा चौका हानी स्वार्थसिद्ध गर्ने कार्यमा डुब्नुजस्तो हो। भोलि फेरि यस अवस्थामा गरेका निर्णय उल्टेर आफैंप्रति सोझिँदै जान थाल्यो भने यसले निश्चय पनि राम्रो प्रतिफल दिँदैन।
– निशान शर्मा, काठमाडौं

प्रतिक्रिया दिनुहोस्