म्याग्दीका मगर समुदायले माघी पर्व मनाए



नेपाल समाचारपत्र
म्याग्दी
म्याग्दीका मगर समुदायले सोमबार माघेसङ्क्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। आफ्नो जातीय भेषभूषामा सजिएका युवायुवती सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरूमा छमछमी नाच्दै माघेसङ्क्रान्ति पर्व मनाएका हुन्।

माघेसङ्क्रान्ति पर्वको अवसर पारेर मगर संघ म्याग्दीले सदरमुकाम बेनीमा प्रभातफेरी र्यालीको आयोजना गरेको थियो। माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रूपमा लिने गर्दछन् भने सोहीअनुसार उनीहरूले मनाउँदै आएका छन्। जनजातिहरूको बाहुल्यता भएको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाएका छन्। मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरूसहितको र्यालीमा सालैजो भाकासँगै युवायुवती र बुढापाकाहरू छमछमी नाचेका थिए।

माघेसङ्क्रान्तिका अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरू गरिएको छ। मकर सङ्क्रान्तिका रूपमा चिनिँदै आएको माघी पर्वको अवसरमा मगर समुदायले जातिय भेषभूषमा सजिएको सांस्कृतिक र्यालीमा सदरमुकाम बेनीबजार परिक्रमा गरेका थिए। उनीहरूले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्यसमेत देखाएका थिए। मगर समुदायले परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी हर्षोल्लासपूर्वक माघेसंक्रान्ति पर्व मनाउँदै आएका छन्। माघेसङ्क्रान्तिलाई प्राकृतिकरूपमा वर्षे सिजन शुरु भएको पर्वका रूपमा मनाउने गरिएको मगर संघ म्याग्दीले जनाएको छ।

माघ महिनादेखि वर्षात्को समय शुरु भएको संकेका रूपमा लिने गरिएको छ। मगर समुदायले यस पर्वमा आफन्तजन एकापसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतिक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताए।

प्रकृतिमा विश्वास गर्ने भएकाले आफूहरूले परम्परादेखि नै उभौली पर्वका रूपमा माघेसङ्क्रान्तिलाई मनाउने गरिएको उनले जानकारी दिए। खेतीबाली र पशुपालन राम्रो होस्, रोगव्याधी नलागोस्, दुःखद घटना नघटून् भन्ने कामनासहित माघेसङ्क्रान्तिमा पूजा गर्ने र देवतालाई खुसी बनाउने चलन रहेको अध्यक्ष थजालीको भनाइ छ।

मगर समुदायले मात्र मनाउँदै आएको परम्परागत माघेसंक्रान्ति पर्वलाई पछिल्लो समय अन्य जातजातिका समुदायले पनि मनाउन थालेका छन्। २०६८ सालको जनगणनाअनुसार १ लाख १३ हजार ६ सय ४१ जनसङ्ख्या रहेको म्याग्दीमा झण्डै ४१ प्रतिशत मगर समुदायको बसोबास रहेको छ। उनीहरूले माघेसङ्क्रान्ति पर्वलाई विशेष महत्त्वका साथ प्रमुख चाडका रूपमा मनाउने गर्दछन्। आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकरसङ्क्रान्ति पनि भन्ने गरिन्छ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वराज्यमन्त्री तथा सांसद नरदेवी पुनले संविधानमार्फत् सबै जातजातिहरूको हक अधिकार सुनिश्चित गरिएको बताउनुभयो। उहाँले संविधानमा समावेशीकरणको व्यवस्था गरिए पनि त्यस ठाउँमा योग्य व्यक्ति पुग्न नसकेको भन्दै व्यक्तिको क्षमताको विकास गर्नुपर्ने हुँदा त्यसका लागि शिक्षालाई जोड दिनुपर्ने बताउनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय कलाकार लाली बुढाथोकी तथा मगर कलाकारहरूले थालीनाच, सोरठी र पुख्र्यौली नृत्यलगायत गीतसगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्