रहेनन् संगीतकार मुनाल



कठमाडौं । संगीतकार बिजय सिंह मुनालको आकस्मिक निधन भएको छ। उनी घुमघामको शिलशिलामा आफन्तका साथ धनगढीको टीकापुर पुगेका थिए।

आईतबार राती रमाईलो गरी सुतेका उनलाई सोमबार बिहान अचानक मृत अवस्थामा भेटिएको थियो। उनी लामो समयदेखि उच्च रक्तचापबाट पिडित थिए। उनको गायिका छोरी बृन्दाका अनुसार टीकापुरबाट उनको शव सोमबार नै एम्बुलेन्समा रोखर काठमाडौं ल्याईंदैछ र भोलि बिहान ८ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

२००७ सालमा जन्मिएका ६७ वर्षिय संगीत सिर्जनमा मात्र नभई बाद्यवादनमा पनि पोख्त थिए। आधुनिक र राष्ट्रिय गीततका साथमा भजनमा पनि संगीत भर्दै आएका मुनालका ५ दर्जन भन्दा बढी गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् भने रेडियो नेपाल बाहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन्।

उनी उदित नारायण झाको सबैभन्दा मिल्ने साथी थिए र उदितनारायणलाई मुम्बईमा स्थापित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मधु क्षेत्री, बिजयसिंह मुनाल र उदितनारायण झालाई त्यस समयमा त्रिमुर्ति भन्ने गरिन्थ्यो। उनले रगत नामक फिल्मका लागि पनि संगीत भरेका थिए।
उनका तमासा भएछु म त मायाको बजारमा, तिम्रो अधरले, तिमी मेरी हौजस्ता गीतहरु लोकप्रिय छन्।
उनी रेडियो नेपालका गीत रेकर्ड गर्दा कंगो र तबला बादन गर्थे भने स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रुपमा सक्रिय हुन्थे।

रेडियो नेपालमा उनी २०३५/२०३६ सालदेखि कंगोबादकका रुपमा टेक बेसीस सेवामा थिए। उनी मध्य बानेश्वर मित्रनगरस्थित निवासमै संगीत सिकाउँथे। उनका गीत उदितनारायण झा, तारादेवी, मिरा राणा, सिताराम पोखरेल, पुष्कर जंगमदेखि नयाँ पुस्ताका गायकहरुसम्मले गाएका थिए।

‘उहाँ अभैm पनि संगीतमै तल्लिन हुनुहुन्थ्यो। धनगडी जानुअगाडिसम्म ३ दिनअगाडिमात्रै पनि नयाँ प्रतिभाहरुलाई आलाप सिकाईरहेको देखेको थिएँ’ उनका छिमेकी तथा फिल्म लेखक एवं निर्देशक लक्ष्मीनाथ शर्माले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने।

प्रतिक्रिया दिनुहोस्