भक्तपुमा मनाईयो सम्यक दान पर्व



पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल सम्बत ७८७ सालमा भक्तपुरमा सुरु भएको बौद्ध धर्मावलम्बीहरुको सम्यक दान पर्व सम्पन्न भएको छ ।पाँच दिपकंर सहित अन्य स्वर्ण दिपंकरका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराई मनाईने सम्यक दान पर्व यहाँका बौद्ध धर्मावलम्बीहरुले भव्य रुपमा मनाएका हुन् ।

चतुब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेकवर्ष माघ १ गते मकर संक्रान्तिका अवसरमा मनाईने गरिन्छ ।सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिईएको थियो भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीहरुले दान गरेको भक्तपुर बौद्ध सम्पदा संघका अध्यक्ष महेन्द्र शाक्यले बताउनुभयो ।

बर्षको दुईपटक मात्र भक्तपुरमा रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रति मूर्तिहरुलाई सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलन अन्र्तगत सम्यक दान पर्वका दिन पाँच दिपंकर बुद्धको प्रतिर्मूतिहरु विराजमान गराईएको शाक्यले बताउनुभयो ।

काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुईख्याल, ललितपुरमा ५ वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमित रुपमा यो पर्व मनाउदै आएको छ । भक्तपुरमा प्रत्येक वर्ष नःपुखु ( गुह्य पोखरी ) को पश्चिम थथुवहिको परिसरमा रहेको भूइख्यल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन छ ।

वौद्ध धर्मावलम्बीहरुको महत्वपुर्ण पर्वका रुपमा रहेको सम्यक दान पर्वलाई बाजागाजाको साथ निम्तो गरिन्छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिईने प्रचलन रहेको सम्यक महादान व्यबस्थापन सहयोग समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिनुभयो ।

भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीहरुले जमिनमा उम्रिएका बिभिन्न अन्न, दक्षिणा लगायत बिभिन्न सामाग्राहीहरु दान गर्ने परम्परा रहेको छ । बर्षको दुईपटक मात्र भक्तपुरमा रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रति मूर्तिहरुलाई सम्बन्धित विहारबाट बाहिर ल्याएर पर्व चलाउने परम्परा रहेको छ ।

सम्यक दानपर्व गौतम बुद्धको पालादेखि चल्दै आएको बौद्ध धर्मालम्बीहरुको विश्वास रहेता पनि ऐतिहासिक प्रमाणको रुपमा लिच्छवीकालिन धार्मिक राजा वृषदेवको पाला देखि आजसम्म पनि मनाउँदै आएको उहाँले बताउनुभयो ।

भक्तपुरमा सम्यक भोजन दानपर्व ने.सं. ७८७ सालमा भक्तपुर चतुर्ब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले भक्तपुर नगरपालिका वडा नं.१७ इताछेँ स्थित थथुवहि (जयकिर्ति महाविहार) बाट सुरु गरेको संघका उपाध्यक्ष रबि किरण बज्राचार्यले बताउनुभयो । जयरत्न पछि वहाँका छोराहरु जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भब्य रुपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरिएको उहाँले बताउनुभयो ।

भूइखेल क्षेत्र ने.सं. १०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरु, सुवर्ण देवता सहित लोकेश्वर देवता, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनि, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरु, नाला, साङ्गा, थिमि आदि ठाउँमा रहेका दीपंकर समेत उपस्थित गराई दीपंकर र अन्य देवताहरुको क्रमबद्ध लाइन राखेर पुजा एवं दान दिईने गरेपनि अहिले भने भक्तपुरका पाँच दिपंकरलाई मात्र राखिने गरीएको छ ।

सम्यक दानमा भक्तपुर लगायत काठमाण्डौं, ललितपुर, बनेपा, साँखु, थिमि लगायतका ठाउँका बासिन्दाहरु दानमा सहभागि भएका छन ्भने गुँलाबाजां, दाफा भजन, ज्ञानमाला भजन, धाबाजां बजाईएको छ ।

भक्तपुरको नियमित सम्यक संघ भोजन दान प्रत्येक वर्ष माघ सक्रान्तिका दिन मनाइने साँस्कृतिक पर्वमा क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकिर्ति महाविहार (थथुवहि) र भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्धहरु राखेर दान दिने गरिन्छ ।

प्रशन्नशिल महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशिल महाविहारका स्थविर आजु, गुणकिर्तिमहाविहार (थिमि)का उपाध्यायगुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई हाम्वजा (तील भोजन) दान गरिने भएकोले माघ सक्रान्तिको दिनलाई नेपाल भाषामा हाम्व संक्रान्ति (तील सक्रान्ति) को रुपमा मनाईदै आएको हो ।

दीपंकर बुद्धहरुलाई थथुवही विहारको मुलद्वारमा सम्यक दानका दाताले स्वागत गर्ने (नेपाल भाषामा लिचायकेगु भनिन्छ), भुइखेल क्षेत्रमा भूमि शोधन गर्ने, पूजा गर्ने लगायत मुलपुरोहित गुरुजुहरुलाई भोजन दान गर्दा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफुल र मिठाई दान प्रदान गर्ने परम्परा रहेको छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ ।

त्यसैगरि सम्यक भोजनमा सहभागि गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस दान दिने कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्त र इष्टमित्र साथीहरुले आ–आफ्नो गच्छे अनुसार दान दिने प्रचलन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्