ज्योति विकास बैंकको सीईओमा ज्ञवाली



काठमाडौं, (नेस)
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त हुनुभएको छ। बैंकका सीईओ कृष्णबहादुर कुँवरले राजीनामा दिएपछि बैंकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।
यसअघि ज्ञवाली सोही बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो। त्यस्तै नेपाल राष्ट्र बैंकमा र ग्लोबल आईएमई बैंकमा समेत काम गर्नुभएको थियो।

चार्टड एकाउन्टेन्टसमेत रहनुभएका ज्ञवालीले हाल विद्यावारिधि गर्दै हुनुहुन्छ। ज्ञवालीलाई सञ्चालक समितिको बैठकले चार वर्षे कार्यकालका लागि सीईओमा पदोन्नति गरेको हो।

यसैबीच ज्योति विकास बैंकको १०औं वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश शेयर पारित गरेको छ। साधारणसभाले राप्ती भेरी विकास बैंक एक्वायर गर्नुअघि प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित गरेको छ। बोनस शेयरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपियाँ पुग्ने बताइएको छ।

साधारणसभाले बैंकका शेयरधनीलाई चुक्ता पुँजीको १ सय ५ का दरले २२ करोड ८ लाख ६३ हजार ४ सय २० रुपियाँ तथा तत्कालीन राप्तीभेरी विकास बैंकका शेयरधनीलाई चुक्ता पुँजीको ६५ का दरले हुने ९४ लाख २३ हजार ८ सय २३ रुपियाँ बोनस शेयर वितरण स्वीकृत गरेको हो।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले प्रगति प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। चालू आवमा बैंकले करिब १ लाख २२ हजार खाताबाट १३ अर्ब ४ करोड रुपियाँ निक्षेप संकलन र १० हजारभन्दा बढी ऋणी मार्फत् १२ अर्ब १० करोड रुपियाँ ऋण लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्