क्षेप्यास्त्र हमलाको साइरनले हवाईमा भागदौड मच्चियो



हवाई, (एजेन्सी)
अमेरिकाको हवाई राज्यमा क्षेप्यास्त्र आक्रमणको अलर्टले भागदौड तथा आतंकको स्थिति उत्पन्न भएको बताइएको छ। यद्यपि पछि उक्त अलर्ट गलत भएको थाहा भयो।

राज्य प्रशासनले थाहा पाउँदासम्म ढिलो भइसकेको थियो र नागरिकहरू गलत संदेशलाई साँचिकै आक्रमण भएको ठानेर सुरक्षित स्थानको खोजीमा भागदौड गरेका थिए। राज्यका गभर्नरले उक्त स्थिति १ कर्मचारीेले गलत बटन दबाएको कारण आएको जानकारी दिँदै त्यसका लागि माफी मागेका छन्। अमेरिका र उत्तर कोरियासँगको विद्यमान तनावले क्षेप्यास्त्र हमलाको अलर्टलाई नागारिकले साँचो मानेका थिए।
हवाईका नागरिकहरूको मोबाइलमा आएको मेसेजमा भनिएको थियो हवाईमा ब्यालिस्टिक क्षेप्यास्त्रको खतरा। छिटोभन्दा छिटो सुरक्षित स्थानमा पुग्नुहोला। यो अभ्यास होइन।

रेडियो र टेलिभिजनमा पनि यो अलर्ट प्रसारण भएको थियो। उत्तर कोरियाबाट क्षेप्यास्त्र हमलाको धम्कीका कारण हवाईलाई संवेदनशील मान्दै अलर्ट सिस्टम तयार गरिएको थियो। गत डिसेम्बरमा अमेरिकाले परमाणु हमलाको साइरनको पनि परीक्षण गरेको थियो। यो शित युद्ध अन्त्यपछि पहिलोपटक भएको हो।
गभर्नरले उक्त घटनालाई मानवीय गल्ती भएको जानकारी दिए। स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीमा यो गल्ती सिफ्ट परिवर्तनका क्रममा भएको हो। सिफ्ट परिवर्तनका क्रममा एक प्रक्रियामा सबै सिस्टमको जाँच हुने गर्छ। सोही क्रममा एक कर्मचारीले गलत बटन दबाएका थिए।

प्रतिक्रिया दिनुहोस्