पार्टी एकताका लागि दुई कार्यदल



 

मधुसूदन रायमाझी, काठमाडौं
कपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बैंकक गएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकीकरण प्रक्रिया लम्बिएको छ। पार्टी एकता प्रक्रिया अगाडि बढाउने बारेमा ओली स्वदेश फर्किएपछि मात्र छलफल हुने भएको हो। ओली सचिवालयका अनुसार नियमित स्वास्थ्य परीक्षण गरेर ओली माघ २ गते स्वदेश फर्किने कार्यक्रम भए पनि केही दिन लम्बिन सक्नेछ।

ओली नहुँदा दुई दलबीच छलफल नै हुन सकेको छैन। राष्ट्रिय सभा र प्रदेशसभाको सरकार गठन गर्नका लागि वाम गठबन्धनद्वारा गठित कार्यदल भने काम गरिरहेको छ। निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेको एमाले र माओवादी केन्द्रको एकता संयोजक समितिको बैठक निर्वाचन सम्पन्न भएको एक महिनापछि एकपटक मात्र बसेको छ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा थप छलफल अगाडि बढ्न सकेको छैन। पुस २५ गते बसेको एकता संयोजक समितिको बैठकमार्फत एकता प्रक्रियाको गृहकार्य अगाडि बढ्ने बताइए पनि राष्ट्रिय सभा र प्रदेशसभा गठनको तयारीका लागि मात्र कार्यदल गठन भएर सम्पन्न भएको थियो।

माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ भने एमालेले पनि पार्टी एकता प्रक्रिया र सरकार गठनको कार्य एकसाथ अगाडि बढाउनुपर्ने अडान लिँदै आएको छ।
माओवादीले सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने भएपछि पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुनुपर्ने अडान राखेको छ। माओवादीका एक नेताले भने– ‘ओली प्रचण्डलाई पार्टी अध्यक्ष मान्न तयार भएका छन्, तर ओली पक्षधर नेताहरूले प्रचण्डलाई अध्यक्ष मान्न नसकिने दबाब दिएका कारण पद बाँडफाँडको कुरा मिल्न सकेको छैन।’ ओली निकटका नेताहरूले ओलीलाई पार्टी अध्यक्ष भन्दा पनि सह–अध्यक्षको रूपमा स्वीकार गरेर मात्र पार्टी एकता गर्नुपर्ने दबाब दिएको बताइएको छ। पद बाँडफाँडमा ओली र प्रचण्डबीच सहमति भए पनि ओली निकटका नेताहरूले प्रचण्डलाई अध्यक्ष दिन नसकिने भन्दै दबाब दिएपछि अध्यक्षस्तरमै सहमति जुट्न सकेको छैन।

‘गत असोज १७ गते चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिअनुसार वाम गठबन्धन नेतृत्वको सरकारको सञ्चालन ओली र प्रचण्डले आधा–आधा कार्यकाल गर्ने सहमति भएको थियो। तर, उक्त सहमतिबाट प्रचण्ड पछि हट्दै ५ वर्ष नै ओलीलाई प्रधानमन्त्री हुन दिने र पार्टीको अध्यक्ष आफूले पाउनुपर्ने अडानमा रहेका छन्’ –एमालेका एक नेताले भने। ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा पार्टी एकता समायोजन समितिको गति लिन सकेको छैन।

वाम गठबन्धनले पार्टी एकता प्रक्रियालाई टुंगो लगाउन गृहकार्य गर्न दुई वटा थप कार्यदल गठन गर्ने तयारी गरेको छ। दुवै पार्टीका नेता र कार्यकर्ता व्यवस्थापन गर्नका लागि संगठनको संरचनाको विषय टुंगो लगाउन कार्यदल गठन गर्ने तयारी गरेको छ। पार्टी एकता गर्दा शीर्ष तहमा माओवादीभित्र प्रचण्डको व्यवस्थापन गर्दा सहज हुने देखिए पनि एमालेमा ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको व्यवस्थापनको विषय जटिल रहेको बताइएको छ।

खनाल र नेपाल दुवै जना पूर्वप्रधानमन्त्री हुन्। वाम गठबन्धनले वैचारिक राजनीतिक र सैद्धान्तिक विषयको टुंगो लगाउन पनि थप कार्यदल गठन गर्ने भएको छ। दुवै कार्यदलले गृहकार्य गरेपछि एकता संयोजक समितिले नै अन्तिम निर्णय गर्नेछ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि दुईवटा कार्यदल गठन गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दुईवटा कार्यदल बनाउँछौं, संगठनात्मक संरचना बनाउने कार्यदल अर्को राजनीतिक वैचारिक, सैद्धान्तिक कार्यदल, दुई कार्यदलले पार्टी एकताको लागि प्रतिवेदन पेस गर्छन्, एकता संयोजक समितिको बैठकले अन्तिम रूप दिन्छ।’

सकेसम्म नयाँ सरकार गठन अघि नै पार्टी एकताको प्रक्रिया टुंगो लाग्ने उल्लेख गर्दै उहाँले सरकार गठन र पार्टी एकीकरण आ–आफ्नो ढंगले अगाडि बढ्ने बताउनुभयो। ‘पार्टी एकताको प्रक्रिया समझदारी, सोच हाम्रो प्रतिबद्धताअनुसार अगाडि बढ्छ, सरकार गठनको प्रक्रिया संविधानअनुसार अगाडि बढ्छ’ –नेता खनालले भन्नुभयो। नयाँ बन्ने पार्टीका अध्यक्ष प्रचण्ड नै हो भन्ने विषयमा अझै समझदारी जुट्न नसकेको बताउँदै उहाँले पार्टी एकतामा हुनेमा कुनै आशका नरहेको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्