कोषले जलविद्युत्मा ७० अर्ब लगानी थप गर्दै



काठमाडौं, (नेस)
कर्मचारी सञ्चय कोषले जलविद्युत् क्षेत्रमा हालसम्म ३४ अर्ब रुपियाँ लगानी गरेको छ। जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्दै आएको कोषले यस क्षेत्रमा थप ७० अर्ब रुपियाँ लगानी गर्ने भएको हो।

यसअघि जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भइसक्नुभएका दीपक रौनियार कोषको प्रमुख प्रशासक भएपछि ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको हो।

कोषमा हाल २ खर्ब ५३ अर्ब रुपियाँ रकम रहेको छ। कोषले आफ्नै कम्पनीमार्फत् अगाडि बढाएको बेतन कर्णाली जलविद्युत् आयोजनामा ७० अर्ब रुपियाँ लगानी गर्ने भएको हो। हाल सर्वेक्षणको काम भइरहेको आयोजनामा कर्मचारीको मुख्य शेयर रहने छ।

यसैबीच कोषले आगामी ५ वर्षमा कोषको कुल रकम ७ खर्ब रुपियाँ पुर्याउने दाबी गरेको छ। सो रकम जलविद्युत्, पूर्वाधार तथा वायु सेवामा लगानी गर्ने कोषको योजना छ। यसअघि कोषले नेपाल वायु सेवा निगमलाई २ वटा जहाज किन्न २० अर्ब रुपियाँ ऋण दिइसकेको छ। कोषले हालसम्म गरेको लागनीमा ८ वटा जलविद्युत् आयोजनामा २८ अर्ब १५ करोड रुपियाँ ऋण लगानी गरेको छ भने शेयरका रूपमा ६ अर्ब रुपियाँ लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्