शेयर बजारको पुँजी १७ खर्ब



नेपाल समाचारपत्र
काठमाडौं
साताभर नेप्से परिसूचक १६ दशमलव ४६ अंकले बढेको छ। यस साता १ हजार ४ सय २३ दशमलव ८३ अंकबाट शुरू भएको बजार १ हजार ४ सय ४० दशमलव २९ बिन्दूमा पुगेर रोकिएको हो।

चार दिन मात्र कारोबार भएको शेयर बजार साताको पहिलो दिनदेखि नै बढेको थियो। यद्यपि, चौथो दिन बजार घटे पनि अन्य दिनको सुधारले सम्हालिएको हो। परिसूचक बढ्दा यससाता कारोबार रकममा भने कमि आएको छ। कारोबार रकम अघिल्लो सातभन्दा ३६ दशमलव ७९ प्रतिशत कम हो। यस साता नेप्सेमा १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
नेप्सेमा १ सय ७४ कम्पनीका ४१ लाख ५ हजार २ सय १० कित्तँ शेयर किनबेच भए। सातभरि कुल १७ हजार ३ सय ९३ कारोबार भए।अघिल्लो साता बजारमा १ सय ७९ कम्पनीका ६४ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपियाँमा कारोबार भएका थिए। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) पौने २२ अर्ब रुपियाँले बढेको छ। यत साता बजार पुँजीकरण १६ खर्ब ६० अर्ब २९ करोड रुपियाँबाट बढेर १६ खर्ब ८२ अर्ब ५ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।

नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा २ दशमलव २९ अंकले बढेर ३ सय ३ दशमलव ६८ अंकमा आइपुगेको छ।

यस साता कारोबारमा आएका १० वटामध्ये ९ वटा समूहमा सुधार आउँदा समग्र बजार परिसूचक उकालो लागेको हो। बढ्नेमा सबैभन्दा धेरै बीमा समूह १ सय ५२ दशमलव ४९ अंकले बढ्यो। त्यस्तै होटल, विकास बैंक र लघुवित्त समूह क्रमशः ३८ दशमलव ८२, १८ दशमलव ८३ र १७ दशमलव ४३ अंकले उकालो लागे। बैंकिङ र अन्य समूह पनि क्रमशः १३ दशमलव शून्य ४ र ९ दशमलव ७१ अंकले उकालो लाग्दा जलविद्युत् र वित्त समूहमा पनि क्रमशः ५ दशमलव ३६ र २ दशमलव ७२ अंकले सुधारिए।

त्यसैगरी ट्रेडिङ समूहमा १ दशमलव ६९ अंकको वृद्धि हुँदा उत्पादनमूलक समूहमा भने साताभरमा १८ दशमलव २ अंकको करेक्सन देखियो।
यस साता कारोबार रकम, शेयर संख्या र कारोबार संख्या सबैको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको कुल २३ करोड ७६ लाख ५० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो। गत साता कम्पनीका २ हजार ७ सय ७५ वटा कारोबारबाट १ लाख ९९ हजार कित्ता शेयर कारोबार भएका थिए।
कारोबार रकमका आधारमा ९ करोड ३६ लाख ६० हजार रुपियाँसहित सानिमा माई हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा रह्यो। सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक पनि अटाए।

यस साता २ वटा कम्पनीका ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ताभन्दा बढी शेयर नेप्सेमा सूचीकृत भएका छन्। तीमध्ये एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद शेयर रहेका छन्। अन्य भने बोनस शेयर रहेको नेप्सेले जनाएको छ।

नेप्सेमा सूचीकृत हुने बोनस शेयरमा ङादी ग्रुप पावरको ४ लाख ८६ हजार ८ सय ६८ कित्ता, सानिमा बैंकका १ करोड १० लाख ३६ हजार २ सय १४ दशमलव ४ कित्ता, नबिल बैंकको १ करोड ८५ लाख ७७ हजार १ सय ४० कित्ता र टुरिजम् डेभलपमेन्ट बैंकका १७ लाख १० हजार ७ सय ७५ कित्ता बोनस शेयर रहका छन्।

पौने पाँच लाखले खोले डिम्याट खाता
काठमाडौं, (नेस)
हितग्राही खाता (डिम्याट) खोल्नेको संख्या ४ लाख ७८ हजारभन्दा बढी पुगेको छ। नेपाल स्टक एक्स्चेन्जद्वारा स्थापित सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यो संख्या गतवर्षको तुलनामा ३६ दशमलव १३ प्रतिशतले बढेको हो।

धितोपत्र अभौतिकीकरण गरी कारोबार गर्नका लागि आव २०७२⁄७३ मा ३ लाख ५१ हजार ४ सय २५ वटा हितग्राही खाता खोलिएकोमा आव २०७३⁄७४ मा सो संख्या बढेर ४ लाख ७८ हजार ३ सय ८५ पुगेको हो। कम्पनीको सम्पन्न सातौं वार्षिक साधारणसभाले धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ अनुसार धितोपत्रको अभौतिकीकरणका लागि दर्ता गरेका कम्पनीको संख्या कुल १ सय ८७ पुगेको जानकारी दिइयो।

त्यस्तै समीक्षा अवधिसम्म कुल निक्षेप सदस्यको संख्या ६५ पुगेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०७२⁄७३ मा १३ वटा कम्पनीलाई निक्षेप सदस्यता प्रदान गरिएकोमा आर्थिक वर्ष २०७३⁄७४ मा थप ४ वटा कम्पनीलाई निक्षेप सदस्यता प्रदान गरिएको हो। हाल निक्षेप सदस्यको सञ्जाल ७३ वटा जिल्लामा विस्तार गरी केन्द्रीय निक्षेप सेवा प्रदान गरिँदै आएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७२⁄७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकीकरण भएकोमा आव २०७३⁄७४ मा कुल १ अर्ब ५ करोड ९४ लाख ६३ हजार २ सय ९९ कित्ता धितोपत्र अभौतिकीरण भएका छन्। यो संख्या अघिल्लो आवको तुलनामा १६ दशमलव ७१ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीको साधारणसभामा आम्दानी २७ दशमलव ६४ प्रतिशतले वृद्धि भएको जानकारी दिइयो। कम्पनीले आव २०७२⁄७३ मा ११ करोड ८९ लाख ५९ हजार ३९ रुपियाँ आम्दानी गरेकोमा आव २०७३⁄७४ मा १५ करोड १८ लाख ४२ हजार ६ सय ६२ रुपियाँ आम्दानी गरेको हो।
कम्पनीको आव २०७३⁄७४ मा ७ करोड ३९ लाख ६५ हजार ८ सय ८९ रुपियाँ खर्च भएको छ। यो अघिल्लो आवको तुलनामा १३ दशमलव ८४ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस्