९० वर्षीय शाक्यको सम्मान



सुनील महर्जन, काठमाडौं

उमेरले उनी ९० मा टेकिसकेका छन्। उनको क्रियाशीलतामा उमेर कतै पनि बाधक भएको पाइएन। उनी अर्थात् लोकबहादुर शाक्य।

शाक्यकै सम्मानमा शनिबार राजधानीमा सयौं मानिस जम्मा भए। नेपालको बुद्ध धर्मको लेखन क्षेत्रमा प्रगतिशील लेखक, स्तम्भकारका रूपमा चिनिएका शाक्यको सम्मानमा भेटको सन्दर्भ भिक्षु कौण्डन्यले जुटाइदिएका थिए।

नेपालको पहिलो बौद्ध मासिक पत्रिका आनन्दभूमिको गतमहिनाको अंकमा उनको आवरणसहित लेख, रचना प्रकाशन गरिएको थियो। यसले पनि भेटलाई अनिवार्य आवश्यकता बनाएको प्रतीत हुन्थ्यो। पञ्चशील प्रार्थनाबाट शुरु गरिएको समारोहमा शाक्य र उनकी श्रीमती पुनमाया शाक्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै विहारको तर्फबाट जुजुभाइ तुलाधरले शाक्य दम्पतीलाई खादा लगाइदिए। त्यसपछि सुख, शान्ति र मैत्रीको कामना गदै भिक्षु कौण्डन्य, भिक्षु धर्मानन्द, भिक्षु सुद्धिको, भिक्षु धर्मदत्तले लयबद्ध परित्राण पाठ गरेका थिए। परित्राण पाठ गर्नाले भय, रोग बिघ्न बाधा हटेर शान्ति मिल्ने जनविश्वास रहेको छ।

सोही अवसरमा शाक्यकै बुद्ध धर्म नामक पुस्तकको लोकार्पण गरिएको थियो। सो पुस्तकको भिक्षु कौण्डन्य र उनकी श्रीमती पुनमाया शाक्यले संयुक्तरूपमा लोकार्पण गरे। समारोहको अन्तमा बुद्ध धर्मको लेखन क्षेत्रमा शाक्यको योगदानलाई स्मरण गर्दै भिक्षु कौण्डन्यले बुद्धमूर्तिसहितको उपहार प्रदान गरेका थिए।

यसअघि सहभागी वक्ताहरूले शाक्यको विविध पक्षबारे चर्चा गरेका थिए। बुद्ध धर्मको क्षेत्रमा देखापरेका बेथिति र सामाजिक विकृतिविरुद्ध शाक्यको लेखन निकै कडा र सशक्त रहेको उल्लेख गर्दै भिक्षु कौण्डन्यले भने– ‘शाक्य एक क्रान्तिकारी व्यक्ति हुन्।’ शाक्यको विचार, जीवनशैली धेरैका लागि प्रेरिणादायी रहेको पनि उनको भनाइ थियो। भिक्षु कौण्डन्यले शाक्यको आलोचनात्मक दृष्टि न्याय र समानतामा आधारित समाजका लागि नभई नहुने चिन्तनका रहेका पनि बताए।

नेपाल भाषाका लेखक एवं गीतकार लाभरत्न तुलाधरले बुद्ध धर्मको क्षेत्रमा देखा परेका विकृतिविसंगति, बेथितलाई शाक्यले आफ्नो लेखनको केन्द्रबिन्दु बनाएको चर्चा गदै शाक्य एक सुधारक, प्रगतिशील लेखक रहेको बताउनुभयो। ‘उमेरले उहाँ मेरो बुबाभन्दा दुई हप्ताले जेठो। सक्रियतामा मभन्दा निकै अगाडि हुनुहुन्छ’ –तुलाधरले भन्नुभयो।

शाक्यका जेठा छोरा एवं चर्चित ध्यान गुरु हेमबहादुर शाक्यले आफ्नो बुबा पञ्चायतकालमा प्रमुख जिल्ला अधिकारीको हैसियतमा रहँदा सदैव न्याय र समानताको पक्षपाती रहेको विभिन्न उदाहरण प्रस्तुत गर्नुभएको थियो। बुबा जतिको साहसिक र न्यायको पक्षपाती हुन नसकेको पनि उहाँले स्वीकार गर्नुभयो।

सो अवसरमा बौद्ध युवा कमिटीका पूर्वअध्यक्ष सुनील महर्जनले शाक्य आफ्नो मान्यता, सिद्धान्त र विचारका लागि भीडदेखि पर रहेर एक्लै उभिन सक्ने आँट भएको साहसिक व्यक्ति रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अक्सर मानिस आफ्नो मान प्रतिष्ठा र लोकप्रियताको खातिर सत्य बोल्दैनन्। शाक्यको जीवन भने सधैं यसैको अपवाद बनेको छ।’ पद्यमकन्या क्याम्पसका पूर्वअध्यापक सुमति बज्राचार्यले समाज सुधार र सामाजिक कार्यकता र अभियन्ताका लागि शाक्यको जीवनी सदैव प्रेरणादायी रहने विश्वास व्यक्त गर्नुभयो।

२००८ सालदेखि २०४५ सम्म सरकारी जागिरमा रहेका शाक्यलाई २०४५ सालमा गोरखा दक्षिण बाहु तृतीय श्रेणी, जनस्तरमा पञ्चवीरसिंह सिरपा–११२४, मा आशामान ताम्रकार सिरपा–१११३ लगायत विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको थियो। बौद्ध दर्शनसम्बन्धी शाक्यका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्