२ वर्षमा डेढ सय भिडियो



सानैदेखि कलाको क्षेत्रमा केही योगदान गरौं भन्ने सोच लिएका थिए प्यूठानका देवेन्द्र क्षत्रीले। २०४६ सालमा प्यूठानमा जन्मिएका उनी दाङमा विद्यालयस्तरको अध्यन पूरा गरी थप अध्यनका लागि काठमाडौं छिरे। काठमाडौंमा पढाइसँगै कला क्षेत्रका कोही मानिससँग चिनजान नभएका कारण कसरी यो क्षेत्रमा प्रवेश गर्ने भन्ने सोचमा उनी डुबिरहन्थे।

‘थप पढाइ पूरा गर्न २०६२ सालमा काठमाडौं आएको म आफ्नो रहर कसरी पूरा गर्ने भन्ने सोचमा थिएँ। कला क्षेत्रमा केही गर्नका लागि अवसर पाएको थिइनँ। यसैले पढाइमा नै ध्यान केन्द्रित गरिरहेको बेला मेरो भेट विन्ध्यवासिनी म्युजिकका प्रँेपाइटर सुवास रेग्मीसँग भयो’, मोडल कलाकार देवेन्द्रले सुनाए– ‘त्यसपछि अवसरका ढोकाहरु पनि खुल्दै गए।’ हालसम्म १ सय ६० भन्दा धेरै लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरी यो विधाको म्युजिक भिडियोको क्षेत्रमा देन पुर्याएका उनको अधिकांश गीत र विन्ध्यवासिनी म्युजिकको छ।

विन्ध्यवासिनीसँगको सहकार्यका कारण आफ्नो करिअर आफैंले रोजेको क्षेत्रमा जमाइरहेका उनले करिअरसंँगै अध्ययनलाई पनि उत्तिकै महत्त्व दिएका छन्। एमबीएससम्मको पढाइ पूरा गरेका उनी आफ्नो संघर्षका दिन सम्झिँदै भन्छन्– ‘अध्ययन गर्दा गर्दै २०६९ सालमा पहिलोपटक साथी तथा छायाँकार सागर गौतमबाट म्युजिक भिडियो खेल्ने एउटा अवसर पाएँ। मेरो सानैदेखिको सोख भएकाले सहर्ष स्वीकारें। विरही कार्की र टीका पुनको स्वरमा रहेको आफ्नै मुटु चुँडिएको हेरौं कसरी बोलको उक्त गीत नचलेका कारण पुनः अध्यनतिर फर्किएको थिएँ। त्यसबीचमा स्वयम्भुस्थित एक सहकारी र पेट्रोल पम्पमा मैले एकाउन्टेनको रूपमा काम पनि गरें। २०७२ सालमा मास्टर लेभलसम्मको अध्यन पूरा गरेर अलि फुर्सद भएको बेला मेरो भेट विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी दाइसँग भयो। उहाँमार्फत नै यो क्षेत्रमा अगाडि बढें र अलिक समय दिएर यस क्षेत्रमा लागिरहेको छु। उहासँगको भेटका कारण मेरो करिअरले नयाँ मोड लियो।’

४ वर्षे अभिनय यात्रामा उनले राजकुमार बगर, विरही कार्की, रजिना रिमाल, विमल डाँगी, श्रेयशी चेम्जोङ, सञ्जीवकुमार पौडेललगायतका गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। यीमध्ये राजकुमार बगरको एल्बम सम्पदा–२ को नचाहेरै तिमीसँग, कृष्णहरि बरालको शंका एल्बमको मनाही छलगायतका उनले अभिनय र मोडलिङ गरेका गीतको म्युजिक भिडियोमा चर्चामा छन्। दोहोरीतर्फ भने विन्ध्यवासिनी म्युजिकको भीरको माहुरी, पिरतीको इतिहास, विमल डाँगीको परदेशी, पुरुषोत्तम न्यौपाने र लक्ष्मी न्यौपानेका नरोउ सानु भोजस्ता उनले अभिनय र मोडलिङ गरेका गीत चर्चित छन्।

६ महिना नृत्य प्रशिक्षण लिएका उनले अब अभिनय प्रशिक्षण लिने तयारी रहेको बताए। ‘अभिनय नसिकिकनै यो क्षेत्रमा लाग्दा पनि दर्शकबाट माया पाएको छु। अब अभिनय सिकेरै अगाडि बढ्ने सोचमा छु –उनले भने। अभिनय गरेर मात्र जीविका नचल्ने भएपछि हाल उनी यति डिस्टिलरीमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत छन्। ‘आफ्नो रहरले यो क्षेत्रमा लागेका कारण मैले कमाउने उद्देश्यले यो क्षेत्रलाई हेरिनँ।

रहर पूरा गर्ने हिसाबले कतिपय भिडियोमा फ्रि मै पनि काम गरें। तर, अहिले फ्रि मा काम गरेको छैन बरु संख्यात्मकभन्दा पनि गुणात्मक काम गरौं भन्ने सोचेको छु। पहिले अफिसियल काममा पनि व्यस्त रहेकाले यो क्षेत्रमा भने जति समय दिन सकिन’, देवेन्द्र भन्छन्– ‘यही क्षेत्रबाट मात्र बाँच्न नसकिने भएकाले जब पनि गरिरहेको छु। तर, अब भने जब र म्युजिक भिडियोको कामको समय व्यवस्थापन गरेर अगाडि बढ्ने कोशिस गर्दै छु।

हालै सम्पन्न आठौं विन्ध्यवासिनी म्युजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी मोडलको अवार्ड पाएपछि भने आफूप्रति थप जिम्मेवारी बोध भएको छ।’
उनको अनुभव छ– ‘लोकदोहोरीको मोडललाई हेर्ने दृष्टिकोण फरक रहेछ। मैले केही आधुनिक गीतमा पनि मोडलिङ गरेका कारण मलाई चिन्नेहरु लोकभन्दा आधुनिक भिडियो गर्नुपर्यो भन्ने सल्लाह दिन्छन्। मैले पनि दुवैलाई सँगै लाने सोचेको छु।’

प्रतिक्रिया दिनुहोस्