९० वर्षीय तन्नेरी शाक्यको सम्मान



सुनील महर्जन, काठमाडौं । उमेरले उनी ९० मा टेकिसकेका छन् । उनको क्रियाशीलतामा उमेर कतै पनि बाधक भएको पाइएन । उनी अर्थात् लोकबहादुर शाक्य ।

शाक्यकै सम्मानमा शनिबार राजधानीमा सयौं मानिसहरु जम्मा भए । नेपालको बुद्ध धर्मको लेखन क्षेत्रमा प्रगतिशील लेखक, स्तम्भकार रुपमा चिनिएका शाक्यको सम्मानमा भेटको सन्र्दभ भिक्षु कौण्डन्यले जुटाईदिएको थिए ।

नेपालको पहिलो बौद्ध मासिक पत्रिका आनन्दभूमिको गत महिनाको अंकमा उनको आवरणसहित लेख, रचना प्रकाशन गरिएको थियो । यसले पनि भेटलाई अनिवार्य आवश्यकता बनाएको प्रतीत हुन्थ्यो ।

पञ्चशील प्रार्थनाबाट शुरु गरिएको समारोहमा शाक्य र उनकी श्रीमती पुनमाया शाक्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै विहारको तर्फबाट जुजुभाइ तुलाधरले खादा शाक्य दम्पतिलाई खादा लगाईदिए ।

त्यसपछि सुख, शान्ति र मैत्रीको कामना गदै भिक्षु कौण्डन्य, भिक्षु धर्मानन्द, भिक्षु सुद्धिको, भिक्षु धर्मदत्तले लयबद्ध परित्राण पाठ गरेका थिए । परित्राण पाठ गर्नाले भय, रोग विध्न बाधा हटेर शान्ति मिल्ने जनविश्वास रहेको छ ।

सोही अवसरमा शाक्यकै बुद्ध धर्म नामक पुस्तकको लोकार्पण गरिएको थियो । सो पुस्तकको भिक्षु कौण्डन्य र उनकी श्रीमती पुनमाया शाक्यले संयुक्त रुपमा लोकार्पण गरे । समारोहको अन्तमा बुद्ध धर्मको लेखन क्षेत्रमा शाक्यको योगदानलाई स्मरण गर्र्दै भिक्षु कौण्डन्यले बुद्धमूतिसहितको उपहार प्रदान गरेका थिए ।

यस अघि सहभागी वक्ताहरुले शाक्यको विविध पक्षबारे चर्चा गरेका थिए । बुद्ध धर्मको क्षेत्रमा देखापरेका बेथित र सामाजिक विकृति विरुद्ध शाक्यको लेखक निकै कडा र सशक्त रहेको उल्लेख गर्दै भिक्षु कौण्डन्यले भने ‘शाक्य एक क्रान्तिकारी व्यक्ति हुन् ।’ शाक्यको विचार, जीवनशैली धेरैका लागि प्रेरिणादायी रहेको पनि उनको भनाई थियो ।

भिक्षु कौण्डन्यले शाक्यको आलोचनात्मक दृष्टि न्याय र समानतामा आधारित समाजका लागि नभई नहुने चिन्तनका रहेका पनि बताए ।
नेपाल भाषाका लेखक एवं गीतकार लाभरत्न तुलाधरले बुद्ध धर्मको क्षेत्रमा देखापरेका विकृतिविसंगति, बेथितलाई शाक्यले आफ्नो लेखनको केन्द्रबिन्दु बनाएको चर्चा गदै शाक्य एक सुधारक, प्रगतिशील लेखक रहेको बताउनुभयो । ‘उमेरले उहाँ मेरो बुबा भन्दा दुई हप्ताले जेठो । सक्रियतामा म भन्दा निकै अगाडि हुनुहुन्छ ।’ तुलाधरले भन्नुभयो ।

शाक्यका जेठा छोरा एवं चर्चित ध्यान गुरु हेमबहादुर शाक्यले आफ्नो बुबा पञ्चायतकालमा प्रमुख जिल्ला अधिकारीको हैसियतमा रहँदा सदैव न्याय र समानताको पक्षपाती रहेको विभिन्न उदाहरण प्रस्तुत गरेका थिए । बुबा जतिको साहसिक र न्यायको पक्षपाती हुन नसकेको पनि उनले स्वीकार गरे ।

सो अवसरमा बौद्ध युवा कमिटीका पूर्व अध्यक्ष सुनील महर्जनले शाक्य आफ्नो मान्यता, सिद्धान्त र विचारका लागि भीडदेखि पर रहेर एक्लै उभिन सक्ने आँट भएको साहसिक व्यक्ति रहेको बताउनुभयो । उनले भने ‘अक्सर मानिस आफ्नो मान प्रतिष्ठा र लोकप्रियताको खातिर सत्य बोल्दैनन् । शाक्यको जीवन भने सधैं यसैको अपवाद बनेको छ ।’

पद्यमकन्या क्याम्पसका पूर्व अध्यापक सुमति बज्राचार्यले समाज सुधार र सामाजिक कार्यकता र अभियन्ताका लागि शाक्यको जीवनी सदैव प्रेरणादायी रहने विश्वास व्यक्त गर्नुभयो ।

२००८ सालदेखि २०४५ सम्म सरकारी जागिर रहेका शाक्यलाई २०४५ सालमा गोरखा दक्षिण बाहु तृतीय श्रेणी, जनस्तरमा पञ्चवीरसिंह सिरपा –११२४, मा आशामान ताम्रकार सिरपा–१११३ लगायत विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको थियो । बौद्ध दर्शन सम्बन्धी शाक्यका एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्