सरकारबाट बाहिरिँदै माओवादीका मन्त्री



काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रले सरकारमा बस्नुको औचित्य नभएको निष्कर्ष निकाल्दै सरकारमा विनाविभागीयको हैसियतमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ। माओवादीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको हो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गर्दै विनाविभागीय बनाउनुभएको थियो।

तर प्रधानमन्त्री देउवाले निर्वाचन नगर्ने हो कि भन्ने आशंका गर्दै माओवादीले निर्वाचन सम्पन्न नभएसम्म सरकारमा नै रहिरहने निर्णय गरेको थियो। विनाविभागीय भए पनि माओवादीबाट मन्त्री भएकाहरू मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आएका थिए। संवैधानिक प्रावधानका कारण प्रधानमन्त्रीले विनाविभागीय बनाए पनि हटाउन नमिल्ने प्रावधानका कारण माओवादी केन्द्रका मन्त्री पदमा बहाल रहेका थिए। माओवादी केन्द्रका मन्त्रीहरूलाई विनाविभागीय बनाएर प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराउनुभएको थियो।

माओवादी केन्द्रका ९ मन्त्रीसहित ७ राज्यमन्त्री सरकार सहभागी छन्। प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीसहित राज्यमन्त्रीलाई बिनाविभागीय बनाएका थिए।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पार्टीले शुक्रबार आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने बताउनुभयो। उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘निर्वाचनको सुनिश्चितताका लागि पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू बिनाविभागीय भएर पनि बस्नुभएको हो, अब निर्वाचन सम्पन्न भएको अवस्थामा पार्टीले फिर्ता बोलाउँछ।’

माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महरासहित बिनाविभागीय ९ जना मन्त्री र ७ राज्यमन्त्रीले राजीनामा दिने भएका हुन्। जसमा जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह छन्।

प्रतिक्रिया दिनुहोस्