नक्कली शेयर कारोबार गर्ने ब्रोकरलाई कारबाही



नेपाल समाचारपत्र
काठमाडौं
नेनेपाल धितोपत्र बोर्डले नक्कली शेयर कारोबार गर्ने तीन धितोपत्र व्यवसायी र दलाल कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरेको छ। बोर्डले बजार अनुगमन तथा सुपरीवेक्षणको क्रममा अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरी सेक्युरिटिज प्रालि र सिप्रवी सेक्युरिटिज प्रालिलाई कारबाही गरेको हो।

यसअघि चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड र सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली शेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट भएको अनुसन्धान प्रतिवेदन अनुसार काठमाडौं जिल्ला अदालतमा गत असार २३ गते मुद्दा दायर गरिएको थियो। सोही मुद्दाका विषयमा गत शुक्रबार बोर्डको निर्णयले धितोपत्र व्यवसायी दलाल कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारबाही गरिएको जनाएको छ।

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली शेयर खरिद बिक्री भएको विषयमा आवश्यक प्रक्रिया पूरा नगरी कार्य सम्पादन गरेको पाइएको बोर्डले जनाएको छ। कुनै व्यक्ति वा संस्थासंग व्यावसायिक सम्बन्ध कायम गर्दा त्यस्तो ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख राख्नुपर्नेमा नराखेको, ग्राहकको पहिचान यकिन नगरेको, ग्राहकको पहिचान अभिलेख दुरुस्त नराखेको भेटिएको हो।

दलाल कम्पनीले सरल वा बृहत् ग्राहक पहिचान, प्रविधिको दुरूपयोगमा नियन्त्रणलगायतका अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा सो नगरेकोले नपाइएको हो। यसरी सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को विरुद्धमा कार्य गरेको भन्दै अग्रवाल सेक्युरिटिज प्रालिलाई १० लाख रुपियाँ जरिवाना गरिएको छ।
त्यस्तै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली शेयर कारोबार भएको सम्बन्धमा बोर्डको अनुसन्धानपछि बमोजिम धितोपत्र दलाल व्यवसायी श्रीहरि सेक्युरिटिज प्रालिलाई १० लाख जरिवाना गरिएको छ। ती दुवै कम्पनीलाई धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को नियम २९ अनुसार कार्यसम्पादन नगरेको भन्दै जनही ५० हजार रुपियाँ अतिरिक्त जरिवाना गरिएको छ।

श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्युरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येकलाई ५० हजार जरिवाना गरिएको छ।

सिप्रवी सेक्युरिटिज प्रालिलाई पनि ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको पूर्ण विवरणसहितको अभिलेख नराखेकाले ५० हजार रुपियाँ जरिवाना गरिएको बोर्डले जनाएको छ। पछिल्लो समय बोर्डले धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारवाहीलाई पनि सशक्त बनाउँदै लगिएको छ। यस्ता कारबाहीबाट सम्पत्ति शुद्धीकरण तथा धितोपत्र सम्बन्धी कसुरहरूको न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्