एपीएफ उपाधि जित्ने तरखरमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लब लगातार २ जित हात पार्दै १६औं राष्ट्रिय महिला लिगको उपाधि जित्ने तरखरमा पुगेको छ। मंगलबार एन्फा कम्प्लेक्समा सुपरलिगको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराएर उपाधि जित्ने तरखर गरेको हो। यो एपीएफको दोस्रो जित थियो भने आर्मीको पहिलो हार थियो। खेलमा अग्रता आर्मीले लिएको थियो। कप्तान कृष्णा खत्रीले १७औं मिनेटमा गोल गरेर आर्मीलाई १–० को अग्रता दिलाएकी हुन्।

गोलकिपर एन्जीला तुम्बाम्पो सुब्बाको गल्तीको फाइदा कृष्णाले लिएकी थिइन्। आर्मीले एक गोलको अग्रतासँगै लिग चरणमा एपीएफसँग हारेको बदला लिने संकेत गरेको थियो। तर दोस्रो हाफमा अनिता केसी र अनिता बस्नेतले एक–एक गोल फर्काएपछि एपीएफले आर्मीलाई पुन निरास पार्यो। केसीले ५०औं मिनेटमा बराबरी गोल गर्दा बस्नेतले ८३औं मिनेटमा ३ डिफेन्डरलाई छक्याएर सुन्दर गोल गरेकी थिइन्।

यसअघिको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई १–० गोलअन्तरले हरायो। १ मात्र गोल रूपा मगरले ३१औं मिनेटमा गरेकी थिइन्। पुलिसको यो २ खेलमा पहिलो जितसमेत थियो। बिहीबार लिगको अन्तिम दिन एपीएफले पुलिससँग र अंकविहीन टोली सुदूरको आर्मीसँग प्रतिस्पर्धा हुनेछ। पुलिस र आर्मीको २⁄२ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्