भाइरल ज्वरो नियन्त्रण गर्न ध्यान देऊ



भाइरल ज्वरोका कारण जाजरकोटमा एक दर्जन नागरिकले ज्यान गुमाएका छन् । सरकारले समयमा नै रोग नियन्त्रण गर्न र उपचार गर्नका लागि ध्यान नदिँदा नागरिकहरूले ज्यान गुमाउनुपरेको छ । झण्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप अझै नियन्त्रणमा आउन नसक्दा प्रभावित क्षेत्रका बासिन्दा थप चिन्तित भएका छन् ।

अहिले पनि दुई हजारभन्दा बढी नागरिक बिरामी छन् । बिरामी नागरिकहरूको उपचारमा सरकारले हेलचेक्रइर्इं गरिरहेको छ । भाइरल फैलिएको लामो समय बितिसक्दा समेत आवश्यक चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाउन सरकारले किन सकेन ?

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी नै जान हिचकिचाउने गरेका छन् भने सरकारले यस्तो बेला कसरी स्वास्थ्यकर्मीलाई सम्बन्धित क्षेत्रमा पठाउने भन्ने स्पष्ट नीतिसमेत बनाएको छैन । सरकारी काममा यसै पनि ढिलासुस्ती हुने गर्छ । यस्तो बेलामा पनि स्वास्थ्य मन्त्रालयले नागरिकहरूको जीवनमाथि हेलचेक्रइईं र खेलाची गरिरहेको छ । आखिर किन? सरकारको यसमा दायित्व र जिम्मेवारी नै हुनुपर्ने हैन र ?

बिरामीहरूमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्नेजस्ता लक्षणका साथै कडा खालको भाइरलको आशंका गरिएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको १, २ र ३ लगायत अन्य वडा र बस्तीमा बी भाइरल फैलिएको छ । ५ वर्षमुनिका बालकालिका र दीर्घरोगीहरूमा कडारूपमा फैलिएको भाइरल ज्वरोका कारण कतिपयको ज्यान गएको छ ।

समयमा नै भाइरल ज्वरोको रोकथाम र नियन्त्रणतर्फ ध्यान नदिँदा भाइरलले थप जटिल रूप लिने देखिएको छ । भाइरल फैलिएको लामो समयसम्म पनि सरकार गम्भीर बनेको देखिँदैन । गाउँ–गाउँमा भाइरल प्रभावितहरूको संख्या बढ्दै गर्दा समेत सरकारले आफ्नो स्रोत र साधन प्रयोग गर्नतिर जाँगर देखाएको छैन। बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जानु र आवश्यक चिकित्सक र औषधि नपुग्दा बिरामीहरू रोगले छट्पटिएका छन् ।

जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्रबाट खटिएका स्वास्थ्यकर्मीको संख्याले मात्र नपुगेपछि केन्द्रबाट पनि स्वास्थ्यकर्मी परिचालन भएका छन् । भौगोलिक विकटताले गर्दा स्वास्थ्य संस्था टाढा भएको र जनचेतनाको अभावले गर्दा बिरामीहरूको सख्या बढ्दै गएको छ । समयमा स्वास्थ्यकर्मी नपुग्दा भाइरल ज्वरोका कारण प्रभावित नागरिक धामीझाँक्रीको झारफुकमा समेत जाने गरेका छन् । मौसम परिवर्तनसँगै चिसो बढेपछि गाउँमा बिरामीको संख्या बढ्दै गएको छ । सरकारले नागरिकको जीवन रक्षा गर्न र भाइरल रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्छ । प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कार्यमा कुनै पनि ढिलासुस्ती गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्