ठग मेनपावर कम्पनी संचालक पक्राउ



काठमाडौं । वैदेशिक रोजगारको लागि विभिन्न देशहरुमा पठाईदिन्छौ भनि ठगि गर्ने मेनपावर कम्पनी माथि प्रहरीले कार्वाही गरेको छ । काठमाण्डौ सिनामंगल स्थित ब्लु स्टार ओभरसिज कम्पनीका संचालकहरुले वैदेशिक रोजगारको लागि विभिन्न देशहरुमा पठाईदिन्छौ भनि विश्वास दिलाई रकम लिई भरपाई समेत नदिई राहदानीहरु संकलन गरी वैदेशिक रोजगारको लागि नपठाई रकम र राहदानी समेत फिर्ता नदिई ठगी गरेको देखिएकोले प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।

सिन्धुपाल्चोक जिल्ला कदमबास न.पा. बस्ने ओसन गिरी लगायतका २६ जना व्यक्तिहरुलाई वैदेशिक रोजगारको सिलसिलामा कुवेत लगायतका देशहरुमा पठाईदिन्छु भनि प्रलोभनमा देखाएको भन्दै उक्त कम्पनी बिरुद्द उजुरी गरेका थिए । उजुरीमा मेनपावर कम्पनीका संचालक राम घिमिरे र संजय उप्रेतीले राहदानी र रकम रु १०,६५,००० (दश लाख पैसठ्ठी हजार) लिएको तर विदेश नपठाई ठगी गरेको उल्लेख गरेका थिए ।

निवेदन पछि तत्काल प्रहरी टोलीउक्त मेनपावर कम्पनीमा पुगी चेक जाँच गर्दा विभिन्न व्यक्तिहरुको नाममा रहेको राहदानी ३७१ थान,भिषा ईन्ट्री रजिष्टर ,स्वीकृत नलिएका डिमाण्ड लेटरहरु, विभिन्न व्यक्तिहरुले आई।एम।ई।गरेका रसिदहरु र रकम लेनदेनसंग सम्बन्धित फाईल लगायतका कागजातहरु बरामद गरेको छ ।

बरामद गरिएका कागजातहरुमा राहदानी संकलन गर्नु पुर्व आवश्यक पर्ने कानुनी प्रकृया समेत पुरा गरेको नदेखिएको, कुवेत, दुवई, कतार, साउदी अरव लगायतका देशहरुमा रोजगारको लागि पठाउने भनि डिमाण्ड लेटर बिना नै ३७१ जना ब्यक्तिहरुबाट राहदानी र रकम समेत संकलन गरेको देखिन आएको साथै उक्त मेनपावर कम्पनीले पिडितहरुबाट ब्यापक गुनासो आए पछि मेनपावर कम्पनी रहेको साविक स्थान बाग्मती खोलाबाट कानुन बिपरीत मेनपावर कम्पनीको कार्यालय समेत सिनामंगल शक्तिमार्ग स्थित एउटा घरमा सारेको देखिएको छ ।

प्रहरीले बरामद राहदानी लगायतका अन्य कागजातहरु थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्वनगर पठाएको छ। वैदैशिक रोजगार ऐन २०६४ अनुसार कसुरदारलाई कसुरको मात्रा हेरी तीन लाख देखी पाँच लाख सम्म जरिवाना र तीन वर्षदेखि सात वर्ष सम्म कैद सजाय साथै मेनपावर कम्पनीको इजाजतपत्र समेत रद्द हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्