बुटवलमा केबलकार सञ्चालनको तयारी



नेपाल समाचारपत्र
काठमाडौं
बुटवलबाट पाल्पाको नुवाकोटगढीसम्म केबलकार सञ्चालन हुने भएको छ। बुटवलको देउरालीबाट नुवाकोटगढीसम्म करिब १ अर्ब रुपियाँको लगानीमा केबलकार निर्माण हुन लागेकको हो।

२ दशमलव शून्य ९ किलोमिटर लामो केबलकार निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। केबलकारको निर्माण यसै वर्ष शुरू हुने प्रवद्र्धक सिद्धार्थ केबलकारले जनाएको छ। उपभोक्ता समितिको सहमति र सम्बन्धित निकायमा सिफारिसका लागि आवश्यक निर्णय गर्न विशेष भेलामा गरिएको थियो।

सरोकारवाला पक्षका प्रतिनिधिसहितको विषेश भेलाले केबलकार सञ्चालनका लागि समितिबाट आवश्यक जग्गा उपलब्ध गराउने सम्बन्धमा सहमति प्रदान गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो। भेलामा वन उपभोक्ता समितिका पदाधिकारी, बुटवल उपमहानगरपालिका वडा नं. १ र २ का वडाअध्यक्षसहितको उपस्थिति रहेको सो भेलाले उक्त निर्णय गरेको हो।

सन् २०२० को जनवरीसम्म निर्माण सम्पन्न हुने केबलकारमा प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीका कन्सल्ट्यान्ट एवम् रोपवे नेपाल प्रालिका अध्यक्ष गुणराज ढकालले बताउनुभयो। चार महिनापछि निर्माण शुरू हुने केबलकार निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने ढकालको दाबी छ।

केबलकार सञ्चालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समितिले सहमति प्रदान गरिसकेको छ। सहमतिपछि जग्गा हस्तान्तरण, रुख कटानका लागि अनुमति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नका लागि करिब ३ महिना लाग्ने ढकालले बताउनुभयो।

शुरूआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको केबलकारले अधिकतम् दैनिक १० हजार यात्रु बोक्ने लक्ष्य रहेको छ। केबलकारमा अधिकतम् ९० वटा डिब्बा रहने छन्। पश्चिम नेपालका विभिन्न जिल्लासँगै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका विभिन्न स्थानका पर्यटकले केबलकारमा यात्रा गर्ने अपेक्षा गरिएको छ।
बुटवलदेखि नुवाकोटगढीसम्म केबलकार सञ्चालनपछि पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। केबलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने ढकालले जानकारी दिनुभयो। बुटवलदेखि नुवाकोटगढीसम्म केबलकार सञ्चालनपछि पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्