मल्लकालीन ढुकुटी संग्रहालय हुने



ईश्वरराज ढकाल, काठमाडौं

हनुमानढोकाभित्र रहेको मल्लकालीन ढुकुटी संग्रहालयमा परिणत हुने भएको छ। हनुमानढोका दरबार क्षेत्र विकास समितिले ढुकुटीभित्र नेपाली सेना बस्दै आएको स्थान र अन्य केही भागलाई समेटेर संग्रहालय निर्माण गर्न लागेको हो।

समितिले भूकम्पले क्षतिग्रस्त भएका राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयमा रहेका केही सामग्री र मल्लकालीन ढुकुटीभित्र रहेका केही सामग्रीलाई सो संग्रहालयमा राख्ने भएको हो। पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०७० सालमा मल्लकालीन ढुकुटी खोल्दा भेटिएका बहुमूल्य सामग्रीसमेत राख्ने मिल्ने गरी संग्रहालय निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘चालू आर्थिक वर्षभित्रै संग्रहालय खुला गर्ने योजना बनाएका छौं। त्यस बेला ढुकुटीमा भेटिएका सामग्रीसमेत हेर्न पाउने व्यवस्था हुनेछ।’ विकास समितिले धमाधम निर्माण गरिरहेको छ। ढुकुटी परिसरमा ढुंगा छाप्ने काम सकिएपछि सर्वसाधारणको लागि खुला गर्ने व्यवस्था गर्न लागेको छ। समितिले राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको सामग्री हनुमानढोका परिसरभित्रै सुरक्षित राखेको जनाएको छ।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा २०७१ मा गठित समितिले तत्कालीन पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई ढुकुटीमा भएको सामग्री त्यसको विशेषता र ती सामग्रीलाई संग्रहालयमा राख्नुपर्नेसहितको प्रतिवेदन बुझाएको थियो। २०७० सालामा सो ढुकुटी खोलिएको थियो। ढुकुटी खोलेको ४ वर्षपछि ढुकुटीमा भेटिएका केही सामग्री राख्ने तयारी भएको दाहालले बताउनुभयो।

संग्रहालय विकास समितिका निर्देशक अरुणा नकर्मीले ढुकुटीसँगै रहेको भवनमा संग्रहालय खोल्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। मल्लकालीन ढुकुटीमा भेटिएको सामग्री अहिले ढुकुटीभित्रै राखिएको छ। नेपाली सेनाको सुरक्षा घेराभित्र करिब ४ हजार केजी चाँदी, करिब ६२ केजी सुन र मल्लदेखि शाह र राणाकालसम्मका बहुमूल्य सामग्री राखिएका छन्।

नेपाली सेना शार्दूलजंग गुल्म, विकास समिति र विभागको रोहवरमा लक गरिएको सो ढुकुटीको बहुमूल्य सामग्री प्रदर्शनीमा राख्ने तयारी गएको वर्षदेखि नै भएको थियो।

‘सम्पूर्ण सामग्री राख्न सकिँदैन केही महत्त्वपूर्ण सामग्री राख्न मिल्ने गरी ठाउँ तय गरिरहेका छौं’ –महानिर्देशक दाहालले भन्नुभयो।

तर विभागले ढुकुटीमा फेला परेका सुन र चाँदी कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा हालसम्म कुनै निर्णय गरेको छैन। हनुमानढोका विकास समितिले करिब २ करोड रुपियाँ लागतमा ढुकुटीको सबै संरचना मर्मत गरेको थियो। संग्रहालय खोल्दा भेटिएका सुन, चाँदीलगायत पुरातात्त्विक, ऐतिहासिक, धार्मिक सांस्कृतिक तहमा वर्गीकरण गरेको थियो। ढुकुटीमा १५ वटा कन्टेनरमध्ये ४ वटा खाली रहेको, ७ वटा सेफमध्ये एउटा खाली रहेको, ७ वटा काठका बाकस खोलेको थियो। सबै बाकस र सेफमा चाँदीका इँटा, भाँडाकुडा, सिक्का र पुरातात्विक बस्तु फेला परेका थिए।

ढुकुटीभित्र मल्लकालदेखि शाहकालसम्मका करिब ५ हजार केजी छाला, चाँदी, सुन, चाँदी र तामा मिसिएको सिक्काको विवरण रहेका छन्। भेटिएका सामग्रीमध्ये अति महत्त्वपूर्ण भक्तपुरका राजा जितामित्र मल्लको ४ सय वर्ष पुरानो मुकुट रहेको छ। त्यसै गरी ३० वटाभन्दा बढी हात भएका देवीको मूर्ति, मल्लदेखि शाहकालका राजपरिवारका सदस्यको सम्पूर्ण गरगहना, अरबी, फारसी, भाषामा मुद्रित सानाठूला सिक्का, बिहारी राजकुमारी रूपमतिदेवीको सुकी, दरबारमा पूजा गर्दा प्रयोग गरिने १ सय ८४ प्रकारमा भाँडाकँुडा, इस्ट इन्डियाका जर्ज पाँचौंकी रानी भिक्टोरियाको सिक्का, सन् १९१२ मा भोट आक्रमण गरी विजय गर्दा नेपाललाई दिएको चाँदीका तक्मालगायत अति महत्त्वपूर्ण सामग्री भेटिएका थिए।

ढुकुटीभित्र मल्ल, शाह र राणाकालमा देशभरमा रहेका मठमन्दिरका गहना, देवतालाई चढाइएका सुन र चाँदीका भाँडाकुँडा, तोरण, खड्कुलो, झारी, करुवा, दियो, कलश, ताप्के, कवचलगायत सामग्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्